बाढी पीडित दोधारा–चाँदनीका बासिन्दा घर फर्किन थाले |




कञ्चनपुर । बाढीका कारण विस्थापित भएका कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकाका स्थानीयवासी बिस्तारै घर फर्किन थालेका छन् ।

आइतबारदेखि परेको अविरल वर्षाले बस्ती डुबानमा परेपछि विभिन्न विद्यालयमा आश्रय लिएका स्थानीयहरू बुधबारदेखि घर फर्कन थालेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।

उनका अनुसार दोधारा–चाँदनी–१० शान्तीटोलका १२ घरपरिवारका ४० जना अम्बिका माध्यमिक विद्यालयबाट घर फर्किएका छन् भने वडा नम्बर ८ का २५ घरपरिवारका ७० जना जनज्योति माध्यमिक विद्यालयबाट फर्किएका छन् ।

यद्यपि दोधारा–चाँदनी–३ पटराखल्लाका १५ घरपरिवारका ५५ जना अझै जमुना आधारभूत विद्यालयमा रहेका छन् । “बस्तीमा पानी घटेपनि घरभित्र हिलो भएकाले बस्न सक्ने अवस्था छैन, उनीहरू भोलीसम्म घर फर्किनेछन्,” प्रवक्ता हरिसिंह धनाडीले जानकारी दिए ।

भारी वर्षापछि जोगबुढा नदीमा आएको बाढीले नगरपालिकाका ५२ घर डुबानमा पर्दा १६५ जना विस्थापित भएका थिए । सो बाढीले वडा नम्बर १० र ७ मा रहेका सशस्त्र प्रहरीका दुई वटा बिओपी पनि डुबाएको थियो ।

विस्थापितहरूको खानपान व्यवस्था दोधारा–चाँदनी नगरपालिकाले स्थानीय संघ–संस्थाको सहयोगमा गरिरहेको छ । महाकाली र जोगबुढा नदीले घेरिएको यो नगरपालिका हरेक वर्ष बाढीको जोखिममा पर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्