विद्यालय बन्द: कञ्चनपुरमा पहिरोले सडक अवरुद्ध



दोधारा चाँदनी । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टी जाने सडक लगातारको वर्षापछि आएको पहिरोले अवरुद्ध भएपछि स्थानीय विद्यालय बन्द भएको छ । सडक बन्द हुँदा विद्यार्थीलाई आवतजावत गर्न समस्या भएपछि खल्लास्थित भीमदत्त स्मृति आधारभूत विद्यालयमा पठनपाठन रोकिएको हो ।

विद्यालयका शिक्षक सुरज जोशीका अनुसार सडकका विभिन्न स्थानमा पहिरो आएकाले विद्यार्थीलाई विद्यालय आउजाउ गर्न कठिन भएको छ । उनले भने, “सडक नियमित सञ्चालन नभएसम्म पठनपाठन गर्न सकिने अवस्था छैन ।”

यो क्षेत्रको भौगोलिक बनावट दुर्गम पहाडी जस्तै भएकाले विद्यार्थीहरूलाई वर्षायाममा थप समस्या हुने गरेको छ । महेन्द्रनगरबाट यहाँ पुग्न १३ वटा खहरे खोला तर्नुपर्छ, जसमा वर्षाको बाढीले आवतजावत अझ चुनौतीपूर्ण बनाउँछ ।

भारी वर्षापछि आइतबारदेखि खल्ला मसेट्टीतर्फको सडक र विद्युत सेवा अवरुद्ध भएको वडा अध्यक्ष गगनसिंह कार्कीले जानकारी दिए । उनका अनुसार पहिरोले विद्युतका पोलमा समेत क्षति पुर्‍याएको छ ।

भीमदत्त नगरपालिकाका कार्यवाहक प्रमुख केशवसिंह विष्टले निरन्तर वर्षाका कारण पहिरो हटाउने काम सुरु गर्न नसकिएको बताए । उनले भने, “सडक र विद्युत सेवा सञ्चालनका लागि प्रयास भइरहेको छ ।”

खल्ला, मसेट्टी र टुँडिखेललगायतका बस्ती पूर्वाधार विकासमा पछाडि परेका छन् । यहाँ करिब ४७० परिवार बसोबास गर्छन् । प्रत्येक वर्ष वर्षायाममा बाढी र पहिरोका कारण सडक बन्द हुँदा स्थानीयलाई ठूलो सास्ती खेप्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्