स्याफ्रुबेँसी–रसुवागढी सडक अवरुद्ध, जलविद्युत् आयोजना प्रभावित |




रसुवा । स्याफ्रुबेँसी–रसुवागढी खण्डमा मालवाहक सवारी गुड्न नसक्दा जिल्लास्थित जलविद्युत् आयोजनाहरूको काम ठप्प भएको छ । गत असार २४ गतेको बाढीले रसुवागढी जलविद्युत् आयोजनाको मुहानको बाँधमा ठूलो क्षति पुर्‍याएपछि आवश्यक उपकरण तथा निर्माण सामग्री ढुवानी नहुँदा मर्मत तथा पुनर्निर्माण प्रभावित भएको हो ।

रसुवागढी जलविद्युत् कम्पनीका अनुसार सुरूङ र विद्युत्गृह सुरक्षित भए पनि मुहानको बाँध पूर्णरूपमा क्षतिग्रस्त छ । मर्मतका लागि चाहिने रड, सिमेन्टलगायत सामग्री ठूला गाडीमार्फत मात्र ल्याउन सकिने भएकाले काम अघि बढ्न सकेको छैन । बाढीले सडकमा ‘ट्रयाक’ खोलिए पनि हाल हल्का सवारी मात्र चल्न सक्ने अवस्था छ ।

कम्पनीका प्रबन्ध निर्देशक सत्यराम ज्याख्वाका अनुसार ल्हेन्दे खोलामा आएको बाढीले १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् केन्द्रको संरचना बिगारेपछि विद्युत् उत्पादन पूर्णरूपमा रोकिएको छ । यसले दैनिक एक करोडभन्दा बढी आम्दानी नोक्सानी भएको छ । कम्पनीले अहिले सम्म ७२ करोड ८८ लाख रुपैयाँभन्दा बढी घाटा बेहोरेको र बाँधलगायत बाहिरी संरचनामा करिब तीन अर्ब ५० करोड बराबरको क्षति पुगेको जानकारी दिएको छ ।

विद्युत् उत्पादनबाट आउने आम्दानीले आठ वर्षभित्र ऋण तिर्ने योजना भए पनि उत्पादन अवरुद्ध हुँदा समयावधि थप्नुपर्ने अवस्थामासमेत कम्पनी पुगेको छ । सावाँ र ब्याजको भार बढ्दै गएपछि कम्पनीले अवरुद्ध सडक छिट्टै सञ्चालन गर्न सरकारसँग आग्रह गरेको छ ।

बाढीले ल्याएका ठूला ढुङ्गाले बाँध भत्किँदा संरचना क्षति भएको र आवश्यक उपकरण ल्याउन सडकमा ठूला मालवाहक गाडी गुड्ने अवस्था नबन्दा मर्मत कार्य अघि बढ्न नसकेको कम्पनीले स्पष्ट पारेको छ ।

गल्छी–मैलुङ सडक सुधार आयोजनाका प्रमुख खड्गलाल श्रेष्ठका अनुसार चार–पाँच दिनभित्र रसुवागढीसम्मको ट्रयाक खोल्ने तयारी भइरहेको छ । चीन सरकारले ल्हेन्दे खोलामा मितेरी पुल निर्माण सम्पन्न गरिसकेकाले छिट्टै मालवाहक सवारी सञ्चालन हुने अपेक्षा गरिएको छ । तर ढिलाइका कारण राष्ट्रिय गौरवका जलविद्युत् आयोजना प्रभावित भएको कम्पनीको गुनासो छ ।

यसैबीच, नागरिक समाज र रसुवालीहरूले आयोजनाको मर्मतका लागि आवश्यक सामग्री ढुवानी गर्न दुई लेनको सडक चाँडै निर्माण गर्न माग गरेका छन् । सडक पूर्णरूपमा बन्द भएपछि आयात–निर्यात ठप्प भई रसुवा भन्सारको राजस्व सङ्कलन समेत शून्यमा पुगेको छ । प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार सडक बन्दले वार्षिक रु ४० अर्ब १६ करोड राजस्व सङ्कलनमा गम्भीर असर पुगेको छ । साउन–भदौमा मात्र सात अर्ब उठाउने लक्ष्य राखिएको भए पनि अब लक्ष्य पूरा हुन नसक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्