
कञ्चनपुर । भारतको उत्तराखण्डलगायत आसपासका क्षेत्रमा बर्डफ्लु देखा परेपछि नेपालमा उच्च सतर्कता अपनाइएको छ । सीमावर्ती क्षेत्रमा सङ्क्रमण पुष्टि भएपछि नेपालतर्फ सचेतनामूलक कार्यक्रम सञ्चालन र निगरानी कडाइ गरिएको हो ।
जिल्ला बर्डफ्लु रोग नियन्त्रण समितिले भारतसँग जोडिएका नाकाबाट पन्छी तथा पन्छीजन्य पदार्थको आयात–निर्यातमा कडाइ गरेको छ । साथै सीमावर्ती पालिकाहरूमा स्थानीयवासी र किसानलाई सचेत गराउने कार्यक्रम पनि सुरु गरिएको छ ।
जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख श्याम खड्काका अनुसार भारतसँग सीमा जोडिएका दोधरा चाँदनी, बेलौरी, पुनर्वास, भीमदत्त नगरपालिका र बेलडाँडी गाउँपालिकामा बर्डफ्लु नियन्त्रण तथा प्रतिबन्धसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । उनले भने, “भारतमा सङ्क्रमण पुष्टि भएपछि नेपालमा फैलिन नदिने उद्देश्यले सचेतना अभियान र निगरानीलाई कडाइ गरिएको छ ।”
उनका अनुसार सस्तो मूल्य र खुला सीमाका कारण अवैध रूपमा पनि कुखुरा तथा कुखुराजन्य सामग्री नेपाल भित्रिने हुँदा जोखिम अझै बढेको छ । सङ्क्रमण फैलिएको खण्डमा पालिएका कुखुरा नष्ट गर्नुपर्ने बाध्यता आउने भएकाले समयमै सचेतना आवश्यक रहेको उनले बताए । खड्काका अनुसार सङ्क्रमित कुखुरामा मर्ने, झोक्य्राउने र चारा नखानेजस्ता लक्षण देखिन्छन् । किसानले आफ्ना कुखुरामा यस्ता लक्षण देखेमा तत्काल सम्बन्धित निकायलाई जानकारी दिन आग्रह गरिएको छ ।
यसैबीच, जिल्ला बर्डफ्लु रोग नियन्त्रण समितिले मंगलबार बसेको बैठकमार्फत भारतीय कुखुराको आयातमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ । भारतको उत्तराखण्ड राज्यअन्तर्गत बागेश्वर र उधमसिंह नगरमा बर्डफ्लु फैलिएको पुष्टि भएपछि नेपालतर्फ रोग प्रवेश नहोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको हो ।
समितिले कञ्चनपुरको पुनर्वास, बेलौरी, बेलडाँडी, दोधरा चाँदनी र भीमदत्त नगरपालिका–१, २ र १० का सीमावर्ती क्षेत्रमा पन्छी तथा पन्छीजन्य वस्तुको आयात र ओसारपसार पूर्ण रूपमा रोक लगाएको छ ।
निर्णय कार्यान्वयनका लागि सुरक्षा निकाय, पशु क्वारेन्टाइन, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रतिनिधि सम्मिलित टोलीले आकस्मिक अनुगमन गर्ने जनाएको छ । अवैध रूपमा सामग्री आयात भएमा नियन्त्रणमा लिएर कानुनबमोजिम कारबाही गरिने पनि समितिले स्पष्ट पारेको छ ।





