सुन्तलामा फल खस्ने रोग, किसान चिन्तित



भोजपुर । भोजपुरमा सुन्तलामा फल खस्ने रोग फैलिन थालेपछि किसान चिन्तामा परेका छन् । दानाको भेट्नो कुहिएर फल झर्ने क्रम बढेपछि व्यावसायिक रूपमा खेती गरिरहेका किसान समस्यामा परेका हुन् ।

भोजपुर नगरपालिका–३ गुप्तेश्वरका किसान डम्बर बस्नेतका अनुसार रोगका कारण सुन्तलाको उत्पादनमा ठूलो असर पर्न थालेको छ । गुप्तेश्वरका तमना, रबे, सिमलबोटे, बलौटे र वाछला क्षेत्रका करिब ३०० किसान यसबाट प्रभावित भएका छन् ।

स्थानीय किसान शारदा थापाले सुन्तलामा फल खस्ने मात्र होइन, हाँगा सुक्ने, ढुसी लाग्ने र पात बेरिने समस्या समेत देखिएको बताइन् । उनका अनुसार रोगका कारण कतिपय बोट खाली भइसकेका छन् । गत वर्ष करिब रु १० लाख बराबरको सुन्तला बिक्री गरेको अनुभव सुनाउँदै उनले यस वर्ष उत्पादन घट्ने चिन्ता बढेको बताइन् ।

त्यसैगरी, किसान तीर्थ प्रधानले भुइँमा खसेका सुन्तलाका दाना काटेर हेर्दा कुनै किरा नदेखिएको जानकारी दिए । रोगको कारण पहिचान र उपचार विधि पत्ता लगाउन किसानहरू खोजीमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्