
दार्चुला । कालापानी, लिपुलेक र लिम्पियाधुराका कारण चर्चामा आउने दार्चुलाको ब्यास गाउँपालिका–१ भित्रका छाङ्गरु र तिङ्कर गाउँ आज पनि आधारभूत सुविधा अभावमा छन् । न पैदल बाटो छ, न सञ्चार सुविधा । यहाँका बासिन्दा अझै भारतीय सडकमार्ग हुँदै गाउँ पुग्न बाध्य छन् । बाटो अवरुद्ध र सञ्चार सेवा ठप्प हुँदा जनजीवन कठिन बनेको छ ।
छाङ्गरुबाट करिब १० किलोमिटर दूरीमा पर्ने तिङ्करसम्मको पैदल बाटो गत साउन २८ गतेको बाढीले बगाएपछि दुबै गाउँ सम्पर्कविहीन भएका छन् । बाटो नभएकै कारण खाद्यान्न ढुवानीमा समस्या भई स्थानीय मौज्दातमा निर्भर छन् । वडा सचिव विनोदसिंह बुढाथोकीका अनुसार बाटो नबन्दा नागरिक मात्र होइन, सुरक्षाकर्मी र बिरामी ढुवानीमा समेत समस्या भएको छ ।
तिङ्कर गाउँमा तीन सातादेखि सञ्चार सुविधा छैन । स्थानीयलाई खबर पुर्याउन सुरक्षाकर्मीको सेट प्रयोग गर्नुपर्ने बाध्यता छ । छाङ्गरुमा नेपाल टेलिकमको सेवा आंशिक रुपमा चल्दासमेत तिङ्करका बासिन्दा भने पूर्णतया नेटवर्कविहीन छन् ।
ब्यास–१ को तिङ्करमा करिब ७० परिवार बसोबास गर्छन् । टेलिकम सेवा अवरुद्ध भएपछि यहाँ कार्यरत सुरक्षाकर्मी पनि आफ्ना परिवारसँग सम्पर्कविहीन छन् । संघीय सरकारको विशेष अनुदानमा गत वर्ष केही सडक मर्मत भए पनि हिँड्डुल गर्न उपयुक्त बाटो अझै छैन ।
गाउँपालिका उपाध्यक्ष विनोदसिंह कुँवरले तिङ्कर सडक निर्माणमा तुरुन्त बजेट विनियोजन गर्न, खाद्यान्न आपूर्ति नेपालकै बाटो भएर सुनिश्चित गर्न र आवश्यक परे हेलिकोप्टरको व्यवस्था गर्न माग गरेका छन् । उनका अनुसार सीमाको विषय चर्चामा ल्याइए पनि स्थानीयलाई आधारभूत सुविधा नपाउनु ठूलो विडम्बना हो ।
पर्यटन अभियानकर्मी हिमालय भट्ट नेपालले ओमपर्वतदेखि लिम्पियाधुरासम्मको भूभाग नेपालको दाबीलाई व्यवहारिक बनाउन छाङ्गरु–तिङ्करमा छिटो विकास कार्य अघि बढाउनुपर्ने बताएका छन् ।
स्थानीय श्रमदानमा हालै तीन काठे पुल बनाइए पनि ठूलो यातायात सञ्चालन गर्न उपयुक्त बाटो छैन । वडाध्यक्ष अशोकसिंह बोहराका अनुसार दुई वर्षअघि निर्माण गरिएको पैदल बाटो बाढीले बगाएपछि समस्या थपिएको हो । उनका शब्दमा, “बाटो बनाउन ठूलो रकम आवश्यक छ, अहिले पशुचौपायासहित आवतजावत गर्न अझै बाटो बनेको छैन ।”





