
काठमाडौँ । विश्वकै सर्वोच्च शिखर सगरमाथा नेपाललाई चिनाउने प्रमुख प्रतीक हो । धार्मिक, पर्यटन र आर्थिक दृष्टिले अत्यन्त महत्त्व राख्ने सगरमाथामा पछिल्ला वर्षमा आरोही र पर्यटकको चाप बढेसँगै फोहर थुप्रिने समस्या गम्भीर बन्दै गएको छ । यसले वातावरणीय सन्तुलन र हिमाली पारिस्थितिक तन्त्रमा चुनौती सिर्जना गरेको छ ।
यही चुनौती न्यूनीकरण गर्ने उद्देश्यले हाल सगरमाथामा फोहर ढुवानीमा ड्रोन प्रविधि प्रयोग थालिएको छ । विद्युतीय सवारी ब्रान्ड बिवाइडीको नेपालका लागि आधिकारिक वितरक साइमक्स इन्क ले एयरलिफ्ट टेक्नोलोजीसँगको सहकार्यमा यो अभियान सुरु गरेको हो । अभियानमार्फत एक हजार केजी फोहर सङ्कलन गर्ने लक्ष्य लिइएको छ ।
यो पहल बिवाइडीको विश्वव्यापी ‘कूल द अर्थ वाइ वान डिग्री’ अभियानअन्तर्गत रहेको छ, जसको उद्देश्य स्वच्छ ऊर्जा प्रवर्द्धन र शून्य कार्बन उत्सर्जनमार्फत जलवायु परिवर्तनको असर न्यूनीकरण गर्नु हो । साइमक्स इन्कका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठका अनुसार यो सामाजिक उत्तरदायित्वअनुरूप आर्थिक तथा प्राविधिक सहयोगमार्फत अघि बढाइएको हो ।
एयरलिफ्ट टेक्नोलोजीका निर्देशक मिलन पाण्डेका अनुसार प्रयोग भएका ड्रोनहरूले १५ मिटर प्रति सेकेन्डको गति र १५ डिग्री सेल्सियससम्मको चिसोमा काम गर्न सक्छन् । यसले फोहर ढुवानीमा लाग्ने जोखिम कम गर्ने मात्र होइन, समय पनि निकै बचत गर्ने अपेक्षा गरिएको छ । उनका अनुसार पहिले ६–७ घण्टा लाग्ने काम अब १–२ मिनेटमै सम्भव भएको छ । ड्रोनमार्फत हाल ६,१३० मिटर उचाइबाट फोहर आधारशिविरमा झारिँदै आएको छ ।
गत वर्ष क्याम्प–१ बाट २३४ केजी र अमादब्लम हिमालबाट ६४१ केजी फोहर सङ्कलन गरिएको थियो भने अहिले सगरमाथाबाट २८६ केजी फोहर ड्रोनमार्फत सङ्कलन भइसकेको एयरलिफ्ट टेक्नोलोजीले जनाएको छ । आगामी दिनमा यो अभियानलाई अमादब्लम, मनास्लु लगायत अन्य हिमाली क्षेत्र र राष्ट्रिय निकुञ्जसम्म विस्तार गर्ने योजना छ ।
नेपाल पर्वतारोहण सङ्घका उपाध्यक्ष मिङ्मा डेभिड शेर्पाले आरोहीहरूले पर्वतारोहणका क्रममा फोहर छोड्ने प्रवृत्तिले समस्या गहिरो बनाएको बताए । उनका अनुसार हालसम्म सरकारले आरोहीसँग धरौटीका रूपमा फोहर शुल्क लिने गरेको भए पनि फिर्ता दिने प्रथाले प्रभावकारी नबनेको छ । उनले अब आरोहीसँग प्रत्यक्ष शुल्क उठाएर फोहर व्यवस्थापन गर्नुपर्ने सुझाव दिए ।
सगरमाथाको संरक्षण र जलवायु परिवर्तनविरुद्धको लडाइँमा प्रविधिको योगदान महत्त्वपूर्ण देखिएको छ । ड्रोन प्रविधिको प्रयोगले फोहर व्यवस्थापन सजिलो मात्र नभई धेरै ज्यान जोगाउने उपायको रूपमा समेत काम गरेको सरोकारवालाहरूको भनाइ छ ।





