
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मासु उत्पादनका लागि सुरु गरिएको व्यावसायिक राँगापालन कार्यक्रम प्रभावकारी बन्दै गएको छ । आर्थिक वर्ष २०८१/८२ मा नगरपालिकाले रु ४३ लाख विनियोजन गरी समूह तथा व्यक्तिको २५ प्रतिशत लागत सहभागितामा तराईबाट उन्नत जातका राँगा खरिद गरी वितरण गरेको थियो ।
नगरपालिकाको पशु शाखाका प्रमुख गणेशप्रसाद आचार्यका अनुसार खरिद गरिएका ४०० राँगामध्ये वडा नं. ३ बाम्राङमा ८३, वडा नं. ४ खाल्लेमा ५९, वडा नं. ५ लफ्याङमा ५२, वडा नं. ७ दोर्पाचिउरीडाँडामा १५ र वडा नं. १५ विजयखर्कमा ४१ वटा वितरण गरिएको हो । नगरपालिकाले बजेट कृषक समूहको खातामा जम्मा गरिदिएपछि समूहले आफैं राँगा खरिद, ढुवानी तथा वितरण गरेको जनाइएको छ ।
उपप्रमुख विशन राईका अनुसार यस कार्यक्रमले नगरवासीलाई स्वरोजगार बनाउँदै राँगाको मासुमा आत्मनिर्भर बनाउन सहयोग पुर्याएको छ । उनले भने, “अघिल्लो वर्ष ४०० वटा राँगा वितरण गरेका थियौँ, जसको मूल्य प्रतिटा करिब रु ६० हजारसम्म पर्छ । चालु आवमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउने योजनामा छौँ ।”
राँगा तथा भैँसीपालन कार्यक्रमबाट प्राङ्गारिक मल उत्पादन हुने भएकाले तरकारी तथा अन्य कृषि उपजमा समेत वृद्धि हुने अपेक्षा गरिएको छ । नगरसभाबाट पारित नीति तथा कार्यक्रमअनुसार कृषिलाई व्यवसायीकरण गर्ने उद्देश्यसहित यो योजना अघि बढाइएको हो ।
जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढीले पशुपालनसँगै केरा, किबी, कागती, सुन्तला, कफी, चिया र तरकारी खेतीलाई पनि व्यावसायिक बनाउने लक्ष्यसहित अनुदान उपलब्ध गराउँदै आएको छ । यसअन्तर्गत वडा नं. ६ नेर्पा र वडा नं. १४ बुइपामा कफीका नर्सरी स्थापना गरिएको छ, जहाँ हाल १७ लाखभन्दा बढी बिरुवा हुर्काइएका छन् ।
नगरपालिकाको लगानीमा सञ्चालन भइरहेका यी नर्सरीमा दैनिक करिब १०० जना ज्यालादारी कामदार संलग्न छन् । कृषि शाखा प्रमुख तेजप्रकाश जैसीका अनुसार बाहिरबाट खरिद गर्नुभन्दा स्थानीय रूपमा उत्पादन गरिएका कफी बिरुवा सस्तो र भरपर्दा हुने भएकाले नर्सरी स्थापना गरिएको हो । कफी उत्पादन व्यवसायीकरण हुँदै गएपछि वार्षिक करिब रु १२ अर्बसम्म भित्रिने नगरपालिकाले अनुमान गरेको छ ।





