लिपुलेक सम्झौता खारेजीका लागि प्रदेशसभाबाट कूटनीतिक पहल गर्न सुझाव



मकवानपुर । बागमती प्रदेशसभाको आजको शून्य समयमा १० जना सदस्यहरूले लिपुलेक सम्झौता खारेज गर्न संघीय सरकारसँग सहकार्य गर्दै कूटनीतिक पहल गर्न प्रदेश सरकारलाई सुझाव दिएका छन्।

सत्तापक्ष र प्रतिपक्ष दुवै दलका सदस्यहरूले लिपुलेक, कालापानी र गुन्जी क्षेत्रमा भारतीय पक्षको गतिविधिले नेपालको सार्वभौमिकता र भू–अखण्डतामाथि चुनौती पर्न सक्ने भन्दै संघीय सरकारलाई सहयोग गर्ने गरी प्रदेशसभाबाट संकल्प प्रस्ताव पारित गर्न माग गरे।

बैठकमा अन्य मुद्दाहरूमा पनि ध्यानाकर्षण गरियो। हेटौँडा–भैँसे सडकखण्डमा बाढी–पहिरोले यात्रु, गर्भवती महिला र बिरामीले भोग्नुपरेको समस्याको दीर्घकालीन समाधानका लागि स्थायी पुल बनाउनुपर्ने, धान खेतीका लागि आवश्यक मल हेटौँडामा मौज्दात राख्न संघीय सरकारसँग समन्वय गर्नुपर्ने, खानेपानी अभाव भएका क्षेत्रमा योजना बनाएर सुविधा उपलब्ध गराउनुपर्ने र सबै अस्पतालमा दक्ष स्वास्थ्यकर्मी सुनिश्चित गर्नुपर्ने माग राखियो।

त्यसैगरी, इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै अब देवनागरी लिपिमा नम्बर प्लेट सञ्चालनमा ल्याउनुपर्ने सुझाव पनि प्रस्तुत गरियो।

बैठकमा सभामुख भुवनकुमार पाठकले विभिन्न समितिहरूमा नयाँ सदस्य मनोनयनको प्रस्ताव पेश गरेका थिए, जसलाई बैठकले स्वीकृत गर्‍यो। प्रदेश मामिला, सार्वजनिक लेखा, शिक्षा–स्वास्थ्य, उद्योग–पर्यटन तथा वातावरण समितिमा नयाँ सदस्य मनोनित गरिएको हो।

सभामुख पाठकले प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्