चिया श्रमिकको पारिश्रमिक बढेर दैनिक रु ५६५ पुग्ने



झापा । नेपाल चिया उत्पादक सङ्घ र श्रमिक ट्रेड युनियनबीच चिया श्रमिकको पारिश्रमिक वृद्धि गर्ने सहमति भएको छ । नवौँ चरणको वार्तापछि भएको सहमतिअनुसार अब चिया मजदुरले दैनिक न्यूनतम रु ५६५ र मासिक रु १५ हजार ६९९ पाउने भएका छन् ।

नेपाल चिया उत्पादक सङ्घको भद्रपुरस्थित कार्यालयमा सोमबार भएको सम्झौतामा सङ्घतर्फबाट वार्ता समिति संयोजक जेपी शर्माले हस्ताक्षर गरेका छन् भने श्रमिकतर्फ नेपाल चिया कफी श्रमिक युनियनका अध्यक्ष सन्तकुमार राई, अखिल नेपाल चिया मजदुर सङ्घकी अध्यक्ष सीता सापकोटा र नेपाल चिया बगान श्रमिक सङ्घका अध्यक्ष दीपक तामाङले हस्ताक्षर गरेका छन् ।

यसअघि श्रमिकहरूले दैनिक रु ५०० र मासिक रु १३ हजार ८९३ पाउँदै आएका थिए । नयाँ सहमतिअनुसार दैनिक पारिश्रमिकमा आधारभूत तलब रु ३९ र महँगी भत्ता रु २६ बढेको छ भने मासिक पारिश्रमिकमा आधारभूत तलब रु १ हजार १६२ र महँगी भत्ता रु ६४४ थपिएको छ ।

सहमति अनुसार पारिश्रमिक वृद्धि २०८२ साल साउन १ गतेदेखि लागू हुनेछ । श्रमिक युनियनहरूले साउन १८ गतेदेखि आन्दोलन सुरु गरेपछि भएको वार्ताबाट सहमति जुटेको हो । दुवै पक्षबीचको यो सहमति आगामी दुई वर्षका लागि पारिश्रमिक विवाद अन्त्य गर्ने गरी गरिएको बताइएको छ ।

यस्तै, नियमित श्रमिकलाई सामाजिक सुरक्षा कोषमा असोज मसान्तभित्र समेट्नेगरी मजदुरहरूको विवरण सङ्कलन गर्ने सहमति पनि भएको छ । नेपालमै सबैभन्दा बढी चिया बगान रहेको झापामा हाल नियमित र मौसमी गरी दुई प्रकारका मजदुर कार्यरत छन् ।

नेपाल चिया कफी श्रमिक युनियनका अध्यक्ष सन्तकुमार राईका अनुसार सहमतिलाई न्यूनतम पारिश्रमिक निर्धारण समितिमा पठाइने र समितिले निर्णय गरेपछि नेपाल सरकारको राजपत्रमा प्रकाशित हुने प्रक्रिया अघि बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्