
ताप्लेजुङ । पछिल्लो समय नेपालमा हिमाल आरोहण गर्ने आरोहीहरूको संख्या तीव्र गतिमा बढ्दै गएको छ । पर्यटन विभागका अनुसार गत वर्ष विभिन्न हिमाल तथा पिक आरोहणमार्फत कुल रु ६३ करोड ८२ लाख ९४ हजार ९७९ राजस्व संकलन भएको छ ।
ताप्लेजुङस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल (८,५५६ मिटर) मा गत मार्च १ देखि अप्रिल २१ सम्म २६ पुरुष र १५ महिला गरी ४१ जनाले सफल आरोहण गरेका थिए । यसबाट मात्रै रु एक करोड ९७ हजार ४६० राजस्व प्राप्त भएको विभागले जनाएको छ । त्यस्तै सङ्खुवासभामा रहेको मकालु हिमाल सोही अवधिमा ६६ जनाले आरोहण गरेका थिए, जसबाट रु एक करोड ६२ लाख ६९ हजार ४८० राजस्व संकलन भएको हो ।
विश्वकै अग्लो सगरमाथा हिमालमा भने ३०२ पुरुष र ७२ महिला गरी ३७४ जनाले सफल आरोहण गरेका थिए । सगरमाथाबाट मात्रै रु ५५ करोड ४९ लाख ९० हजार २७८ राजस्व संकलन भएको छ ।
गत याममा २३ हिमाल तथा पिकमा ६७८ पुरुष र १९१ महिला गरी ८६९ नेपाली तथा विदेशी आरोहीले सफल आरोहण गरेका थिए । समग्रमा, ती आरोहणबाट ६४ करोडभन्दा बढी राजस्व प्राप्त भएको विभागले जनाएको छ ।
विश्वकै अग्ला चुचुराहरू
हिमालको पारिपट्टि चीनको तिब्बत क्षेत्र पर्दछ भने अन्य हिमालहरू चीन, भारत, पाकिस्तान, भुटान र ताजिकिस्तानसम्म फैलिएका छन् । विश्वका १० मध्ये ८ वटा सबैभन्दा अग्ला चुचुरा नेपालमा रहेका छन्—सगरमाथा, कञ्चनजङ्घा, ल्होत्से, मकालु, चोयू, धवलागिरि, मनास्लु र अन्नपूर्ण–१ । यी सबै ८,००० मिटरभन्दा माथि रहेका हिमाल हुन् । बाँकी दुईमध्ये के–२ र नाङ्गा पर्वत पाकिस्तानमा पर्छन् ।
तर, पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमनदीहरू तीव्र गतिमा पग्लँदै गएका र हिमरेखा क्रमशः माथि सर्दै गएकाले हिमालहरू नाङ्गिँदै जाने खतरा बढेको विज्ञहरूले चेतावनी दिएका छन् ।
जलवायु परिवर्तनको प्रभाव
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को सन् २०२१ को प्रतिवेदनअनुसार ताप्लेजुङस्थित कञ्चनजङ्घा क्षेत्रमा हिमरेखा हरेक वर्ष औसत ६.५ मिटरले माथि सर्दै गएको छ । सोही अवधिमा हिमतालको सङ्ख्या पनि २७ बाट बढेर ४९ पुगेको छ । यसले हिमाली भूगोल र पर्यावरणीय संरचनामा जलवायु परिवर्तनको प्रत्यक्ष असर देखाएको छ ।
इसिमोडकै २०२२ को “हिमालयन वाटर सिक्युरिटी” प्रतिवेदनले नेपालमा हरेक दशक तापक्रम ०.३ देखि ०.५ डिग्री सेल्सियसले बढिरहेको देखाएको छ । यसले हिमनदी पग्लने दर बढाउने मात्र होइन, हिमालमा निर्भर कृषि, पशुपालन, खानेपानी र स्थानीय समुदायको जीवनयापनमा गहिरो असर पारिरहेको छ ।
विज्ञहरूको भनाइमा तत्काल जलवायु अनुकूलन र दीर्घकालीन रणनीति नअपनाइएमा हिमनदीको ह्रास अझ तीव्र हुँदै जानेछ, जसले जलस्रोत प्रणाली, जैविक विविधता र खाद्य सुरक्षामा दीर्घकालीन संकट निम्त्याउनेछ ।





