धादिङ–मलेखु सडक : दारेगौँडाभिरमा अझै भासिने र पहिरोको समस्या



धादिङ । वर्षा सुरु भएपछि धादिङ–मलेखु सडकखण्डको दारेगौँडाभिर यस वर्ष पनि भासिने र पहिरो जाने क्रम रोकिएको छैन । कालु पाण्डे मार्गअन्तर्गत धादिङको नीलकण्ठ नगरपालिका–८ ससाह नजिकै पर्ने दारेगौँडा क्षेत्रलाई उच्च जोखिम क्षेत्रका रूपमा लिइएको छ ।

सडक कालोपत्रे भएको २०५८ सालदेखि नै यो भाग निरन्तर भासिने र पहिरोले क्षति पुर्याउने क्रम जारी छ । स्थानीय भरत ढुङ्गानाका अनुसार पछिल्ला वर्षमा सडक तलतिर धस्ने र माथिबाट पहिरोले थिच्ने अवस्था अझै बढेको छ ।

गत आर्थिक वर्षमा नुवाकोट सडक डिभिजनले मर्मतको जिम्मा लिए पनि भौगोलिक अवस्था अध्ययन नगरी हतारमा गरिएको काम पहिराले नष्ट गरिदियो । त्यसपछि समस्या झन् जटिल बनेको स्थानीयले बताएका छन् । अहिले सडकको बिच भागमै चिरा परेर भासिँदै गएको छ भने छेउपट्टि मान्छे उभिनसक्ने ठाउँ पनि छैन । ठूला सवारीले आधा टायर झुण्ड्याएरै गुजार्नुपर्ने बाध्यता छ ।

सडक प्रयोग गर्ने सवारी चालकले यहाँ पार गर्दा जोखिम अत्यधिक हुने बताउँछन् । चालक डम्बरबहादुर श्रेष्ठ भन्छन्, “लोडसहित गाडी गुजार्दा पहिरो खसियो भने ज्यानै जोखिममा पर्छ भन्ने डर लाग्छ ।” करिब १०० मिटर लम्बाइको पहिरो क्षेत्रमा सडक साँघुरो छ र तलतिर थोपल खोलाले सडकलाई तानिरहेको छ ।

स्थानीयको गुनासो अनुसार सडक विभागले यस वर्ष केही भागमा मात्र ग्यावियन जाली राखेर झारा टार्ने काम गरेको छ । जग बलियो नभएको सडकमा यस्तो उपाय पर्याप्त नहुने भन्दै उनीहरूले दीर्घकालीन समाधानका लागि खोलाकिनारदेखि नै पर्खाल उठाउनुपर्ने माग गरेका छन् ।

कालु पाण्डे मार्गका तत्कालीन सुपरभाइजर अर्जुन सापकोटाले पहिरो नियन्त्रणका लागि ‘स्वायल टेष्ट’ गरेर दीर्घकालीन योजना बनाइने बताएका थिए । तर बजेट विनियोजन भए पनि ठोस योजना नबनाउँदा जोखिम अझ बढ्दै गएको छ ।

वैकल्पिक बाटो उपयोगमा नआएको

दारेगौँडाको जोखिमयुक्त खण्डलाई बाइपास गर्न ससाहको देउराली चौताराबाट इँटाभट्टा–मैदी भञ्ज्याङ हुँदै तल्लो ज्यामिरेसम्म पुग्ने वैकल्पिक बाटो छ । तर कच्ची सडक मर्मत नहुँदा सवारीसाधन गुजार्न कठिन भएको छ । हिलो, खाल्डाखुल्डी र पाँच सय मिटर लामो अप्ठ्यारो भाग मर्मत गर्न सके यो बाटो प्रयोगमा ल्याउन सकिने स्थानीयको भनाइ छ ।

यस्तै, दारेगौँडाको पहिरो नजिकै चौतारोबाट मैदी भञ्ज्याङ हुँदै तल्लो ज्यामिरे पुग्ने अर्को बाटो पनि छ । तर दुबै वैकल्पिक मार्गलाई प्रयोगयोग्य बनाउन तत्काल ग्राभेल तथा मर्मत आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्