धानखेती डुबानपछि किसान सिँघाराखेतीतर्फ आकर्षित



महोत्तरी । गत साउनमा आएको अविरल वर्षा र डुबानका कारण धानखेती नष्ट भएपछि जलेश्वर नगरपालिका–८ का किसानहरू वैकल्पिक रूपमा सिँघाराखेतीतर्फ आकर्षित भएका छन् । करिब २०० बिघा क्षेत्रफलमा लगाइएको धानबाली रातो खोलाको बाढीले नष्ट गरेपछि किसानहरूले खेतमा जमेको पानी प्रयोग गरी सिँघारा फलाउन थालेका हुन् ।

किसान मनोज साहका अनुसार धानखेती पुनःलगाउन नसकिने अवस्था भएपछि पानी जम्ने खेतलाई प्रयोग गरेर सिँघाराखेती सुरु गरिएको हो । उनका अनुसार यहाँका किसानहरू हरेक वर्ष डुबानले हुने आर्थिक क्षति र श्रमको नोक्सानीबाट निराश भएका कारण कम लगानी र बढी आम्दानी हुने वैकल्पिक खेतीतर्फ आकर्षित भएका हुन् ।

स्थानीय चन्देश्वर साहले धानखेतीको सुनिश्चितता नभएको क्षेत्रमा सिँघाराखेती राम्रो विकल्प बन्न सक्ने बताए । यसैगरी, जलेश्वर नगरपालिका–१ का वडाध्यक्ष अनिलकुमार झाले बाढीले नष्ट पारेका सयौँ बिघा खेतमा विकल्पस्वरूप सिँघाराखेती सुरु गरिएको जानकारी दिए । उनका अनुसार पानीमुनि लहरामा फल्ने गुलियो र पौष्टिक सिँघारा स्थानीयस्तरमा लोकप्रिय हुँदै गएको छ ।

जलेश्वर–२ का वडाध्यक्ष वरुण दाहालले बाढीपछिको समस्या समाधान गर्न किसानलाई सहज बनाउन सिँघाराखेतीलाई प्रोत्साहन दिइएको बताए । जलेश्वर–४ का किसान रामजनम सहनीले लामो समय बाँझो रहेको जलाशयमा हाल ५०–६० परिवारले सिँघारा खेती सुरु गरेको जानकारी दिए ।

सिँघारा असोजदेखि बिक्रीका लागि तयार हुने गर्दछ । किसान दिलचन मुखियाका अनुसार प्रतिकिलो रु १२० देखि १८० मा बिक्री हुने सिँघाराले लाखौँको आम्दानी दिन सक्छ । मिथिलाञ्चलमा पूजाआजामा प्रयोग हुने सिँघारा बालबालिका, बूढापाका र पेटका रोगीका लागि लोकप्रिय रहेको किसान जीबछ मोमिनले बताए । जलेश्वर–९ का किसान सिया यादवले प्रतिकिसान रु दुई–तीन लाखसम्म आम्दानी हुने दाबी गरे ।

तर, स्थानीय कृषि कार्यालयसँग सयौँ बिघामा भइरहेको सिँघाराखेतीबारे कुनै अभिलेख छैन । जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवचन्द्र चौधरीले सिँघाराखेतीलाई प्रवर्द्धन गरी मौसमी उद्योगका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै यसका लागि विशेष योजनासहित प्रोत्साहनमूलक कार्यक्रम ल्याइने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्