ढोरपाटनमा पर्यटक बढेसँगै घोडा व्यवसाय पुनर्जीवित



बागलुङ । एक दशकअघिसम्म ढोरपाटनवासीको जीवनयापन घोडा र खच्चडमै निर्भर थियो । सामान ढुवानीदेखि यात्रा गर्नसम्म प्रयोग हुने घोडा–खच्चड सडक विस्तारपछि कामविहीन बनेका थिए । यसै कारण धेरै किसानले घोडा पाल्ने परम्परा छाडेका थिए ।

तर पछिल्ला वर्षमा ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फेरि फस्टाउन थालेको छ । पर्यटकले घोडामा चढेर सवारी गर्ने, तस्बिर र भिडियो खिच्ने माग बढेसँगै पहिले बेचिएका घोडा धमाधम पुनः किनिने क्रम सुरु भएको हो । “पहिले बेकामे बनेका घोडा अहिले आम्दानीको स्रोत बन्न थालेका छन्,” ढोरपाटन नगरपालिका–९ का खिमबहादुर विकले बताए ।

उनका अनुसार बुकीपाटनसम्मको आवागमनका लागि प्रति घोडा रु ४ हजारदेखि ५ हजारसम्म भाडा लिइन्छ भने फोटो वा भिडियोका लागि चढ्दा रु ५० देखि १५० सम्म शुल्क लिने गरिएको छ । “१०–१५ वर्षअघि सामान ढुवानीमै व्यस्त घोडा अहिले पर्यटक बोकेरै आयस्रोत बनेका छन्,” उनले थपे ।

व्यवसायी धनराम विकले भने, “पहिले आलु, स्याउ, सिमी जस्ता उत्पादन बजार पुर्‍याउने र खाद्यान्न ल्याउने घोडा अहिले पर्यटक ओसार्न प्रयोग भइरहेका छन् । गाडी पुग्दैन भने अझै पनि घोडा अपरिहार्य छन्।”

यद्यपि केही व्यवसायीले पर्यटकसँग बढी शुल्क असुल्ने गरेको गुनासो पनि आएको छ । “फोटो खिच्न रु १०० भनेकोमा अन्तिममा रु ३०० लिन खोजियो,” ढोरपाटन घुम्न पुगेका पर्यटक कुलदीप तामाङले बताए । उनीहरूले यस्तो असुली नियन्त्रण गर्न सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।

ढोरपाटन सिकार आरक्ष कार्यालयका अनुसार पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा १५ हजार ५७३ पर्यटक पुगेकोमा चालु वर्ष २३ हजार ६९२ पुगेका छन् । बर्खामा वनफूल र हिउँदमा हिउँ रमाइलो गर्न आउनेको सङ्ख्या बढेपछि घोडा व्यवसाय पुनः चहलपहलमा फर्किएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्