
बागलुङ । कालीगण्डकी नदीबाट नियम विपरीत उत्खनन गरी सङ्कलन गरिएको बालुवा जफत गरिएको छ । जिल्ला समन्वय समितिको सक्रियतामा जफत गरिएको सो बालुवा कारबाहीका लागि बागलुङ नगरपालिकामा पठाइएको हो ।
नगरपालिकाले भाटेखोला र दब्ल्याङ बगरलगायत स्थानबाट अवैध रूपमा सङ्कलन गरिएको ४ हजार ९७२ घनमिटर बालुवा जफत गरी करिब १५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । नगरपालिकाका राजस्व शाखा प्रमुख सरस्वती रेग्मीका अनुसार जरिवानास्वरूप विभिन्न क्रसर व्यवसायी तथा दोहनमा संलग्न व्यक्तिलाई कारबाही गरिएको हो ।
गत असारदेखि भदौ १५ सम्म नदीजन्य पदार्थ उत्खनन गर्न कानुनी प्रतिबन्ध रहे पनि राति चोरी–छिपी दोहन भइरहेको भन्दै रेग्मीले नदी किनारमा थुपारिएको सामग्री जफत गरी राजस्वमा परिणत गरिएको बताइन् ।
जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले अवैध उत्खनन राज्यका लागि कर छली हुने भएकाले यसको नियन्त्रण अपरिहार्य भएको बताए । “अहिले कालीगण्डकीबाट बालुवा निकाल्न पाइँदैन, ठेक्का दिएपछि मात्र मापदण्डअनुसार निकाल्न मिल्छ । तर राति चोरी–छिपी दोहन भइरहेको छ, त्यसैले जफत गरी जरिवाना गरिएको हो । यो अभियान बागलुङमा मात्र सीमित नराखी जिल्लाभर सञ्चालन गरिनेछ,” प्रमुख थापाले भने ।





