
सुनसरी । लगातार वर्षासँगै सप्तकोसी नदीमा पानीको सतह उच्च बनेपछि बाढी जोखिम कम गर्न कोसी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगराज खतिवडाका अनुसार आइतबार बेलुकी १० बजे गरिएको मापनमा नदीमा प्रतिसेकेन्ड दुई लाख ७३ हजार ९२५ क्युसेक पानी बगेको थियो। दिउँसो ४ बजे मात्र दुई लाख ५६ हजार १० क्युसेक प्रवाह हुँदा ३४ ढोका खोलिएको थियो।
“ब्यारेजमा हाल रातो बत्ती बालिएको छ, जसले जलप्रवाह खतराको स्तर नजिक पुगेको सङ्केत गर्छ। एक लाख ५० हजार क्युसेक नाघ्दा नै यो सङ्केत दिइन्छ,” प्रवक्ता खतिवडाले बताए। उनका अनुसार रातो बत्ती बालिनु भनेको सतर्कता अपनाउनुपर्ने अवस्था हो।
हाल डुबानको प्रत्यक्ष जोखिम नरहे पनि पहाडी क्षेत्रमा लगातार वर्षा भइरहेकोले पानीको सतह अझै बढ्ने अनुमान गरिएको छ। यसै कारण सम्बन्धित निकायसहित सप्तकोसी आसपासका बासिन्दालाई सचेत रहन र जोखिमपूर्ण स्थानमा नजान आग्रह गरिएको छ।





