महाकाली नदीको कटानले कुतियाकवर बस्ती जोखिममा



कञ्चनपुर । महाकाली नदीको कटानले कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–१० स्थित कुतियाकवर बस्ती जोखिममा परेको छ । पूर्वतिर महाकाली र उत्तरतिर जोगबुढा नदी बीच अवस्थित यस बस्तीको दक्षिणतर्फ भारतसँग सीमा जोडिएको छ ।

स्थानीयका अनुसार निरन्तर भइरहेको कटानका कारण दुई बिघाभन्दा बढी जमिन नदीमा समाहित भइसकेको छ । बस्ती जोगाउन पटक–पटक सरकारसँग आग्रह गरे पनि आवश्यक तटबन्ध निर्माण नभएको स्थानीय टेकबहादुर सुनारले बताए । उनका अनुसार कटान र डुबानका कारण धेरै परिवार अन्यत्र बसाइँ सरेका छन् ।

“नदी बस्तीको छेउमा आइपुगेको छ । सरकारले समयमै तटबन्ध निर्माण नगर्दा बस्ती साघुँरिँदै गएको छ,” सुनारले भने, “बर्सेनी खेतीयोग्य जमिन कटान हुँदा बस्ती नै नदीमा हराउने चिन्ता बढ्दो छ ।”

वि.सं. २०२२ देखि बसोबास शुरु भएको कुतियाकवरमा पहिले १५० परिवार थिए । तर, महाकाली र जोगबुढा नदीका बाढी–कटानले अहिले करिब १०० परिवार विस्थापित भइसकेका छन् । वि.सं. २०७४ मा जोगबुढा नदीमा झोलुङ्गे पुल बनेपछि स्थानीयलाई नगरपालिकासँगको पहुँच सजिलो भए पनि बाढी–कटानको जोखिम भने कायमै छ ।

स्थानीय खडक बुढाका अनुसार वि.सं. २०७८ को बाढीले गाईभैंसी, बाख्रा र घरमा रहेका अन्न सबै बगाएको थियो । अहिले जोगबुढा नदीमा तटबन्ध निर्माण सुरु भए पनि कार्य सम्पन्न नहुँदा निरन्तर कटान भइरहेको उनले बताए ।

नगरप्रमुख किशोर लिम्बूले बस्तीको सुरक्षाका लागि दुईवटा सुरक्षित आवास (सेफहाउस) निर्माण गरिएको जानकारी दिए । उनका अनुसार महाकाली र जोगबुढा नदीमा जलमापन यन्त्र जडान गरी प्रत्यक्ष सूचना नगरपालिकामा आउने व्यवस्था मिलाइएको छ ।

बाढी नियन्त्रणका लागि सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयले जोगबुढा नदीमा ८१६ मिटर लामो तटबन्ध निर्माणको काम अघि बढाएको छ । गत चैत २५ गते करिब रु पाँच करोड १६ लाखमा शङ्कर कन्स्ट्रक्सनसँग सम्झौता भए पनि कार्य ढिलाइ भएको नगरप्रमुख लिम्बूले बताए ।

उनका अनुसार करिब ५० बिघा क्षेत्रफलमा फैलिएको कुतियाकवर बस्ती प्रत्येक वर्षको कटानले साघुँरिँदै गएको छ । कटानकै कारण सीमा स्तम्भ नं २२ समेत हराइसकेको र अहिले त्यही स्थानबाट महाकाली नदी बगिरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्