मध्यपहाडी लोकमार्ग बाढीले ठप्प |




बागलुङ । कालापैराखोलामा आएको भीषण बाढीका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बागलुङको निसीखोला गाउँपालिका–४ स्थित सो खण्डमा आएको बाढीले बुर्तिबाङ–पूर्वी रुकुम सडक पूर्ण रूपमा रोकिएको हो ।

आइतबार दिनभरको वर्षापछि राति आएको बाढीले सडकमा ठूलो क्षति पुर्‍याएको निसीखोला गाउँपालिका–४ का वडा अध्यक्ष टीकानिधि पौडेलले जानकारी दिए । उनका अनुसार लोकमार्ग अवरुद्ध भएपछि रुकुम पूर्वतर्फका सवारी साधन कालापैरामा अड्किएका छन् । त्यस्तै, बुर्तिबाङबाट निसी, भल्कोट हुँदै पूर्वी रुकुम र रोल्पा जान लागेका साना तथा ठूला यातायातका साधन कानाबगरमै रोकिएका छन् ।

सडक खुलाउन निरन्तर प्रयास भइरहेको भए पनि निरन्तर वर्षाका कारण विभिन्न ठाउँमा पहिरो खस्ने र रुख ढल्ने समस्या दोहोरिँदै आएको अध्यक्ष पौडेलले बताए । उनका अनुसार माथिबाट लेदो झरेर सडक थुप्रिँदा आवागमनमा थप कठिनाइ भएको छ ।

‘यसपाली ठूलो बाढी आयो, जसका कारण सम्पूर्ण सवारी आवागमन ठप्प छ,’ अध्यक्ष पौडेलले भने, ‘लोकमार्ग खुलाउन मेसिन मगाएका छौँ, कम्तीमा एकतर्फी भए पनि सञ्चालनमा ल्याउन चाहन्छौँ । तर पूरै सडक बगरमा परिणत भएकाले पूर्णरूपमा खुलाउन लामो समय लाग्ने देखिन्छ ।’

प्रतिक्रिया दिनुहोस्