
कञ्चनपुर । आइतबार रातिदेखिको अविरल वर्षापछि कञ्चनपुरका विभिन्न बस्तीहरू डुबानमा परेका छन् । भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका नदीमा आएको बाढी पस्दा ४५ घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार दोधारा चाँदनी नगरपालिका–८ का रामपुरे र जर्गा टोलमा जोगबुढा नदीको बाढी पस्दा २५ घर प्रभावित भएका छन् । तीमध्ये ७० जना विस्थापित भई नजिकैको विद्यालयमा अस्थायी रूपमा बसोबास गरिएको छ ।
यस्तै, दोधारा चाँदनी नगरपालिका–३ पटराखल्लामा १५ घर र भीमदत्त नगरपालिका–११ भुजेलामा पाँच घर डुबानमा परेका छन् । पटराखल्लाका प्रभावित ५५ जना स्थानीय, उनीहरूको सरसामान र चौपायालाई समेत जमुना आधारभूत विद्यालयमा सुरक्षित राखिएको प्रहरीको भनाइ छ ।
महाकाली नदीमा सतर्कता
निरन्तर वर्षासँगै महाकाली नदीको जलस्तर खतरनाक स्तरमा पुगेको छ । हाल नदीमा पानीको बहाव एक लाख ४० हजार २५० क्युसेक पुगेको प्रहरीले जनाएको छ ।
जलस्तर एक लाख क्युसेक नाघेपछि भारतीय पक्षले शारदा ब्यारेज हुँदै चारपाङ्ग्रे र तीनपाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाएको छ ।





