ऋषिङमा २५ किसानद्वारा व्यावसायिक अकबरे खेती



तनहुँ । जिल्लाको ऋषिङ गाउँपालिका–८ अर्चलेका २५ जना किसानले सामूहिक रूपमा पहिलोपटक अकबरे खुर्सानीखेती गरेका छन् । अर्चले कृषक समूहमा आवद्ध किसानहरूले २२ रोपनी जग्गामा व्यावसायिक रूपमा खेती थालनी गरेका हुन् ।

समूहका सदस्य गञ्जसिं गुरुङका अनुसार उत्पादित खुर्सानी प्रतिकिलो रु २५० देखि रु ३५० सम्म बिक्री भइरहेको छ । उनले पहिलो चरणमै करिब एक हजार किलो खुर्सानी बिक्री भइसकेको र बजारमा कुनै समस्या नभए पनि उचित मूल्य भने पाउन कठिनाइ भएको बताए । हालसम्म रु दुई लाखभन्दा बढी मूल्य बराबरको खुर्सानी बिक्री भएको समूहले जनाएको छ ।

भिमाद, दुलेगौँडा र पोखरासहितका बजारमा बिक्री हुँदै आएको यो खुर्सानी खेतीका लागि गाउँपालिकाले बेर्ना र सिँचाइमा ७५ प्रतिशत अनुदान सहयोग गरेको थियो । समूहका अध्यक्ष मिनबहादुर गुरुङले सुरुवाती लगानी करिब रु छ लाख रहेको र वैशाखको अन्तिम साता बिरुवा रोपिएको बताए । उनका अनुसार रोपाइँ गरेको दुई महिनामै फल आउन सुरु भएको हो भने अब दोस्रो चरणको बिक्रीको तयारी भइरहेको छ ।

साना किसान कृषि सहकारी संस्थाका अध्यक्षसमेत रहेका गञ्जसिं गुरुङले कृषि र पशुपालनका लागि किसानलाई सात प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउँदै आएको जानकारी दिए । उनले भने, “गाउँका युवालाई विदेश जान रोक्दै स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउन सामूहिक खेतीलाई अघि बढाएका छौँ ।”

उर्वर माटो भएकाले जुनसुकै खेतीमा पनि राम्रो उत्पादन हुने यहाँका किसानको अनुभव छ । जमिन बाँझो नराख्ने अभियान अन्तर्गत समूहले हालसम्म १४० रोपनीमा सुन्तलाखेतीको सुरुवात गरिसकेको छ । गञ्जसिंका अनुसार एक हजार सुन्तलाका बिरुवा लगाइसकिएको छ भने तीन हजार बिरुवा थप रोप्ने योजनासहित काम अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्