निगुरो टिपेर घरखर्च धान्दै सरिता



सुनसरी । बराहक्षेत्र नगरपालिका–१० प्रकाशपुरकी सरिता उराँव जङ्गलमा पाइने निगुरो टिपेर बेच्ने आम्दानीबाट आफ्ना छोराछोरीको पढाइदेखि घरखर्चसम्म धान्दै आएकी छिन् ।

उनी दिनमा रु ३०० देखि रु ७०० सम्मको निगुरो बेच्ने गर्छिन् । यही आम्दानीबाट दुई छोराछोरीको विद्यालय खर्च, खाजा खर्च, नुनतेलदेखि दैनिक आवश्यकतासम्म पूरा गर्ने गरेको उनले बताइन् । सरिताले भनिन्, “निगुरोमा लगानी गर्न पर्दैन, जङ्गलबाट टिपेर ल्याएर बेच्दा सजिलै फाइदा हुन्छ । बिहानै जान सके धेरै टिपिन्छ तर छोराछोरीलाई स्कुल पठाउनुपर्ने भएकाले दिउँसो मात्र जान पाउँछु ।”

उनी रामधुनीको जङ्गलबाट निगुरो टिपेर ल्याएर रामधुनी मन्दिर नजिकै सडक किनारमै दिनभर बिक्री गर्छिन् र बेलुका घर फर्किन्छिन् । उनका अनुसार धेरै सङ्कलन भएको दिन इटहरी, इनरुवा, झुम्काका व्यापारी आएर लैजाने गर्छन् भने थोरै भए बाटो हिँड्नेले नै खरिद गर्छन् । सानो मुठा रु २० र ठूलो मुठा रु ५० मा बिक्री हुने गरेको उनले बताइन् ।

तीन वर्षअघि सुरु गरिएको यो पेशाबाट विशेष गरी दशैँ–तिहारतिर बढी आम्दानी हुने उनको अनुभव छ । “दसैँतिर धेरैलाई घरायसी कामले जङ्गल जान नसक्ने भएकाले सजिलै निगुरो टिपिन्छ, त्यसबेला आम्दानी पनि बढ्छ । आधा चाडपर्व खर्च यही निगुरोमै पुर्‍याउँछु,” उनले भनिन् ।

सरिताका अनुसार जङ्गलमा पाइने निगुरो अर्ग्यानिक, स्वादिलो र स्वास्थ्यका लागि लाभदायी हुन्छ । जति धेरै टिपे पनि बिग्रने चिन्ता नहुने, सबै बिक्री भइहाल्ने उनी बताउँछिन् । “चैतदेखि असोज–कात्तिकसम्म निगुरो टिप्ने मौसम हुन्छ, यसैबाट छोराछोरीको खाजा खर्चदेखि बजार खर्चसम्म पुग्छ,” उनले थपिन् ।

बराहक्षेत्र क्षेत्रमा सरिताजस्तै धेरै परिवारका लागि निगुरो प्रमुख आयस्रोत बनेको छ । बिहानपख रामधुनी मन्दिर नजिकैको सडक छेउमा दर्जनभन्दा बढी महिला निगुरो बेचिरहेका देखिन्छन्, जसले उनीहरूलाई आत्मनिर्भर बनाउन सहयोग पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्