
स्याङ्जा । स्याङ्जा जिल्लाको वालिङ नगरपालिका–५ चिसापानीका युवा ऋषि रेग्मीले बाँझिएको जमिन फाँडेर व्यावसायिक कागतीखेती सुरु गरेका छन् । अहिले कागती खेती नै उनको आम्दानीको प्रमुख स्रोत बनेको छ ।
रेग्मीले कोरोना महामारीका कारण भएको ‘लकडाउन’मा गाउँमै समयको सदुपयोग गर्ने उद्देश्यले कागतीखेती सुरु गरेका थिए । गल्याङ नगरपालिका–५ स्यालबासबाट एक सय बोट सुन कागतीका बेर्ना ल्याएर लगाएका उनले गत वर्षदेखि उत्पादन लिन थालेका हुन् ।
“बाँदरको उपद्रवका कारण अरू खेती गर्न गाह्रो भएपछि विकल्पका रूपमा कागती खेती सुरु गरेको हुँ,” रेग्मीले भने, “त्यतिबेलाको निर्णय अहिले आएर सफल बनेको छ, खुसी छु ।”
खेतीपाती नहुँदा बाँझिएको जमिनलाई प्रयोग गर्दै गाउँमै पहिलोपटक व्यावसायिक रूपमा सुरु गरिएको यो कागतीखेती आज नमूनाका रूपमा स्थापित भएको छ । प्राविधिक ज्ञान नभए पनि उनले युट्युबमार्फत जानकारी हासिल गरेर खेतीलाई अगाडि बढाएका छन् ।
एक सय बोटमध्ये ९० बोटले उत्पादन दिन थालेपछि रेग्मीले गत वर्ष मात्र झण्डै रु ६० हजार बराबरको कागती बिक्री गरेका थिए । यस वर्ष उत्पादन दोब्बर बढेको उनले बताए । करिब पाँच रोपनी जमिनमा गरिएको यो खेतीबाट उत्पादन हुने कागती वालिङ बजारका होटलहरूमा प्रतिकेजी रु २०० देखि ३०० मा बिक्री हुँदै आएको छ ।
“व्यापारीलाई नभई सिधैँ होटलमा बिक्री गर्ने भएकाले बजार मूल्य राम्रो पाइरहेको छु,” उनले भने, “अहिलेसम्म बजार नपाउने समस्या आएको छैन ।”
रेग्मीले बाँझिएको जमिनमा अझै नयाँ बोट थप्ने योजना बनाएका छन् । उनको सफलताले प्रभावित भई स्थानीयवासी पनि अब व्यावसायिक रूपमा कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन् ।





