नेपालमा उत्पादन हुने अण्डा अब एन्टीबायोटिकरहित



चितवन । नेपालमा उत्पादन हुने अण्डा अब एन्टीबायोटिकरहित भएका छन्। सरकारले कुखुरामा एन्टीबायोटिक प्रयोगमा रोक लगाएपछि किसानहरूले खोप र जडिबुटीजन्य उपायमार्फत रोग नियन्त्रण गर्दै अण्डा उत्पादन थालेका हुन्।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा. अनन्त दाहालका अनुसार हाल अधिकांश पोल्ट्री फार्महरूले एन्टीबायोटिक प्रयोग त्यागेका छन्। उनले नवलपरासीस्थित दाउन्ने एग्रो फार्मलाई उदाहरण दिँदै त्यहाँ एन्टीबायोटिक पूर्ण रूपमा निषेध गरिएको र खोप तथा जडिबुटीजन्य खुराकमार्फत रोग नियन्त्रण भइरहेको जानकारी दिए।

पहिले दाना र पानीमा एन्टीबायोटिक (एजीपी) प्रयोग हुने गरेकोमा अहिले भ्याक्सिन र हर्बल सामग्रीले त्यसको स्थान लिएको छ। यसले अण्डामा अवशेष नराखी रोग नियन्त्रणमा मद्दत गर्ने डा. दाहालको भनाइ छ।

नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलले पनि सङ्घअन्तर्गतका फार्महरूले एन्टीबायोटिक प्रयोग नगरेको पुष्टि गर्दै गुणस्तरीय अण्डा उत्पादनमा प्राथमिकता दिइएको बताए। उनका अनुसार, यसले जोखिम र खर्च बढाए पनि मानव स्वास्थ्यलाई सुरक्षित राख्न खोप र हर्बल उपायलाई प्राथमिकता दिइएको हो।

नेपाल अण्डा उत्पादक सङ्घका पूर्वअध्यक्ष त्रिलोचन कँडेलले वैकल्पिक उपाय अपनाएर कुखुराको रोग प्रतिरोधात्मक क्षमता बढाइएकाले नेपालमा उत्पादन हुने अण्डा सुरक्षित रहेको बताए। तर, सीमा क्षेत्रबाट आयात हुने अण्डाको गुणस्तर भने अनिश्चित रहेको उनको भनाइ छ।

फिजिसियन डा. भोजराज अधिकारीका अनुसार कुखुराको रोग अण्डामा नजान्ने भएकाले एन्टीबायोटिकरहित अण्डा अझ स्वस्थकर हुन्छन्। उनका शब्दमा, “मानव स्वास्थ्यका लागि अबका अण्डा अझ उपयोगी हुनेछन्।”

प्रतिक्रिया दिनुहोस्