
ललितपुर । नेपालको फोहोरमैला व्यवस्थापनलाई आधुनिक र स्मार्ट बनाउन ‘नेपाल टेक मार्केट’ ले नयाँ सफ्टवेयर प्रणाली सार्वजनिक गरेको छ। यो प्रणाली सोलिड वेस्ट म्यानेजमेन्ट एसोसिएसन नेपाल, अपकोड नेपाल र नेपाल टेक मार्केटको सहकार्यमा विकास गरिएको हो।
नेपाल टेक मार्केटका प्रमुख कार्यकारी अधिकृत चीरञ्जीवी अधिकारीले यो पहल प्रविधि मात्र नभई सामाजिक जिम्मेवारीसँग समेत जोडिएको बताए। उनका अनुसार, फोहोरलाई समस्या होइन, पुनःप्रयोग र पुनःचक्रणमार्फत दिगो समाधान सिर्जना गर्ने अवसरको रूपमा लिनुपर्छ।
अपकोड नेपालका वरिष्ठ सफ्टवेयर इन्जिनियर मङ्गल कृष्ण प्रधानका अनुसार यो सफ्टवेयर प्रयोगकर्ता-मैत्री, बलियो, सुरक्षित र सजिलो छ। उनले यसमा नवीनतम प्रविधि र विश्वव्यापी प्रचलनहरू समावेश गरिएको बताउँदै यसले फोहोर सङ्कलन तथा व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।
यो सफ्टवेयर फोहोर व्यवस्थापन कम्पनी, घरपरिवार, अस्पताल, होटल, व्यवसायी, विद्यालयदेखि सरकारी संस्थासम्मका लागि उपयोगी हुने अपेक्षा गरिएको छ।
प्रणालीका विशेषताहरू
- अनलाइन भुक्तानी : फोहोर व्यवस्थापन शुल्क अनलाइन भुक्तानी गर्न सकिने व्यवस्था।
- नगरपालिकाको ड्यासबोर्ड : नगर वा वडास्तरमा फोहोर व्यवस्थापन गतिविधि अनुगमन गर्न छुट्टै ड्यासबोर्ड।
- जीपीएस प्रणाली : फोहोर बोक्ने सवारीसाधनमा जीपीएस प्रयोग गरी व्यवस्थापनलाई प्रभावकारी बनाइने।
- फोहोरको वर्गीकरण : पुनःप्रयोग र पुनःचक्रणलाई सहज बनाउन फोहोरको वर्गीकरणमा जोड।
नेपाल टेक मार्केटकी प्रमुख व्यावसायिक अधिकृत सुष्मिता पौडेलका अनुसार यो सफ्टवेयरले प्रयोगकर्ताबाट सकारात्मक प्रतिक्रिया पाएको छ। उनले यसले स्थानीय तहको कार्यक्षमता बढाउनुका साथै समुदायलाई सफा सहर निर्माणमा सहयोग पुर्याउने विश्वास व्यक्त गरिन्।





