तीजका मौलिक भाका हराउँदै



कैलाली । एक समय थियो, गाउँघरमा मादलको ताल गुन्जिँदै तीजको रौनक सुरु हुन्थ्यो । दिदीबहिनीहरू आँगनमा भेला भएर वर्षभरिका दुःख–वेदना गीतमार्फत पोख्थे, मादलको तालमा नाचेर मन हल्का पार्थे । दिनभरको कामपछि साँझ तीजका भाका गाउने परम्परा थियो, जसले केवल रमाइलो मात्र होइन, मनका पीडा व्यक्त गर्ने अवसर पनि दिन्थ्यो ।

घोडाघोडी नगरपालिका–८ की ६१ वर्षीया पार्वतीदेवी खत्री भन्छिन्, “रोपाइँ सकिएलगत्तै साउनदेखि गाउँमा मादल घन्किन्थ्यो । महिना दिनसम्म नाचगान चल्थ्यो । अहिले भने त्यो सबै हराउँदै गयो ।” त्यस्तै ६३ वर्षीया तोलादेवी विष्ट सम्झिन्छिन्, “पहिले तीजमा महिलाले आफ्ना व्यथा गीतमै पोख्थे । अहिलेका गीत भड्किला बने, मन हल्का पार्ने ठाउँ हरायो ।”

समयसँगै तीजको स्वरूप फेरिँदै गयो । मादल र मौलिक भाकाको स्थान ‘साउन्ड सिस्टम’ र आधुनिक सङ्गीतले लिएको कैलाली जिल्ला समन्वय समिति प्रमुख टीका चौधरी भुल बताउँछन् । उनका अनुसार पुराना पुस्ताका लागि तीज नाचगान मात्र नभई विवाहपछिका पीडा, माइतीको सम्झना र सामाजिक यथार्थ व्यक्त गर्ने माध्यम थियो ।

६५ वर्षीया मैती बुढाथोकी भन्छिन्, “माइत जान तीज कुर्नुपर्थ्यो, लिन नआए जानै पाइँदैनथ्यो । मादल–मुजुराको तालमा गाइने गीतमा गहिरो भावनात्मकता र मौलिकता हुन्थ्यो । अहिले त्यस्ता भाका सुनिन गाह्रो छ ।”

पछिल्ला वर्षमा तीज गीतमा भड्किला शब्द र दुई अर्थी प्रस्तुतिहरू हावी भएको उपप्रमुख गुलिया कुमारी चौधरी बताउँछिन् । उनका अनुसार “मादल बजाएर मौलिक भाका गाउने परम्परा हराउँदै गएको” छ । यसले मादलजस्ता परम्परागत बाजा संकटमा पार्नुका साथै सांस्कृतिक पहिचान नै कमजोर बनाएको छ । लम्की चुहा नगरपालिका–३ का मादल व्यवसायी तीर्थ वादी भन्छन्, “पहिले तीज, तिहार, विवाहको समयमा मादल राम्रैसँग बिक्री हुन्थ्यो । अहिले त बेच्नै गाह्रो भएको छ ।”

यद्यपि मौलिकता जोगाउन प्रयासहरू पनि भइरहेका छन् । घोडाघोडी नगरपालिकाले मौलिक तीज गीत प्रतियोगिता आयोजना गर्दै पुराना भाकालाई नयाँ पुस्तासम्म पुर्‍याउने काम गरिरहेको छ । अघिल्लो वर्ष सुरु गरिएको प्रतियोगिता यसपालि पनि सोमबार आयोजना गरिएको नगर प्रमुख खड्क रावतले जानकारी दिए ।

👉 मौलिकता हराउँदै गएको तीजलाई जोगाउन यस्ता पहलहरू आगामी पुस्ताका लागि सांस्कृतिक धरोहरको रूपमा महत्वपूर्ण सावित हुने स्थानीयहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्