वीरगन्जमा हैजाका संक्रमित ९३ पुग्दै, ३४४ बिरामी उपचाररत



पर्सा । वीरगन्ज महानगरमा हैजा सङ्क्रमण बढ्दै गएको छ । सोमबारसम्म संक्रमितको सङ्ख्या ९३ पुगेको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । हैजा नियन्त्रणका लागि तीनै तहका सरकारले प्रयास गरे पनि सङ्क्रमण दर भने घटेको छैन ।

आइतबार बेलुकासम्म ७१ जनामा हैजाको सङ्क्रमण पुष्टि भएकोमा सोमबार थप बढेर ९३ पुगेको जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए । उनका अनुसार हालसम्म वीरगन्जका विभिन्न अस्पतालमा १६६ जना बिरामी उपचाररत छन् भने १७८ जना उपचारपछि घर फर्किएका छन् ।

नारायणी अस्पतालमा मात्र आरडिटी परीक्षणमार्फत ३२ जनामा हैजा पुष्टि भएको छ । त्यस्तै तराई अस्पतालमा ३२, नेशनल मेडिकल कलेजमा १२, भवानी अस्पताल, वीरगन्ज हेल्थ केयर र मङ्गलम प्याथोलोजीमा तीन–तीन जना, अर्ली अर्थो अस्पतालमा दुई जना र अन्य सातवटा अस्पतालमा एक–एक जना बिरामीमा सङ्क्रमण देखिएको छ ।

अहिलेसम्म वीरगन्जका विभिन्न अस्पतालमा पुगेका झाडापखाला र हैजाका बिरामीको कुल सङ्ख्या ३४४ पुगेको छ । तीमध्ये २७ जना आइसियुमा, छ जना एचडिसियुमा र १२२ जना सामान्य वार्डमा उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्