
महोत्तरी । मिथिला क्षेत्रमा आज श्रद्धा र आस्थासहित चन्द्रमाको पूजा गरेर चौरचन पर्व मनाइँदै छ । परम्परागत रूपमा मनाइने यस पर्वलाई मिथिलाञ्चलका गाउँबस्तीमा ‘चौरचन’ वा ‘चौठचन्द्र’ पर्वका नामले पनि चिनिन्छ ।
संस्कृतिविद् ध्रुव रायका अनुसार यो पर्व परिवारलाई एकताबद्ध बनाउने माध्यम मानिन्छ, किनकि यस दिन परिवारका सबै सदस्यहरू जमघट भई सामूहिक रूपमा पूजा–पाठ र भोजन गर्ने परम्परा रहिआएको छ ।
महिलाहरूले दिनभर निराहार उपवास बस्ने र बेलुकी चन्द्रमाको पूजा सम्पन्न गरेपछि अन्न तथा जल ग्रहण गर्ने परम्परा रहेको छ । जलेश्वर नगरपालिका–८ की व्रतालु राजवतीदेवीका अनुसार पर्वमा फलफूल, मिठाइ, पुरी, खीर र दही खाने चलन छ ।
पूजा सम्पन्न भएपछि घरका सदस्यहरूले पालैपालो आँगनमा राखिएका फलफूल लिएर चन्द्रदर्शन गर्ने र त्यसपछि सबै परिवार आँगनमै भेला भई खीर, पुरी, दही र मिठाइ सेवन गर्ने प्रथा रहेको छ ।





