
तनहुँ । मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) को म्याद चौथो पटक थपिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तनहुँको जामुनेदेखि आँबुखैरेनीसम्मको खण्डमा असोज २५ गतेसम्म म्याद थप गरेको हो ।
योजनाका इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार तेस्रो पटक थपिएको म्याद असार २९ गते सकिएको थियो । हालसम्म आँबुखैरेनीदेखि जामुनेसम्मको ४१.५ किलोमिटर खण्डमा चार लेनमा कालोपत्र पूरा भइसकेको छ । तर, कालोपत्रबाहेक केही काम अधुरो रहेकाले थप समय आवश्यक परेको हो ।
उनका अनुसार दमौली बजार क्षेत्रमा छ लेन र अन्य भागमा चार लेनमा कालोपत्र सम्पन्न भइसकेको छ । अधिकांश क्षेत्रमा सडक रङ्रोगनको काम पनि पूरा भएको र अब थोरै मात्र काम बाँकी रहेकाले थप म्यादको सिफारिस गरिएको हो ।
सम्झौताअनुसार तीन वर्षभित्र काम सम्पन्न गर्ने योजना भए पनि करिब ४५६ दिनमा कालोपत्रको काम पूरा भएको पाण्डेले बताए । पूर्वी खण्डमा २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको हो ।
उक्त खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको हो । विसं २०२६ सालमै रेखाङ्कन भएको यो सडकमा सवारी चाप बढेसँगै एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा चार लेनमा विस्तार गरिएको हो । पूर्वी खण्डको ठेक्काको लागत ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँ रहेको छ ।





