
देउखुरी । दाङमा टिपर र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने अर्को एक जना घाइते भएका छन् ।
गढवा गाउँपालिका–१, धोद्रे पुल नजिक आज बिहान करिब ६ बजे चन्द्रौटाबाट पश्चिमतर्फ जाँदै गरेको ना ८ ख ८२५९ नम्बरको टिपर र प्युठानबाट चन्द्रौटा जाँदै गरेको लु ३९ प ८३९० नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।
दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकलमा सवार प्युठानको ऐरावती गाउँपालिका–५ का १९ वर्षीय सुशील थापा रहेको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक डवलबहादुर बमले जानकारी दिए । थापाको उपचारका क्रममा भालुबाङ अस्पतालमा मृत्यु भएको हो ।
सोही दुर्घटनामा मोटरसाइकल चालक २२ वर्षीय प्रचण्ड थापा घाइते भएका छन् । उनलाई भालुबाङ अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ ।
मृतकको शव पोस्टमार्टमका लागि लमही अस्पताल पठाइएको छ भने प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएको छ ।





