स्याङ्जामा कुटपिटबाट युवकको मृत्यु



स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–५ बाहुनडाँडाका ३२ वर्षीय ढालबहादुर थापाको कुटपिटका कारण मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रशन्नराज चौधरीका अनुसार गएराति करिब ११ बजे थापामाथि कुटपिट भएको थियो ।

गम्भीर घाइते भएका थापालाई प्रारम्भिक उपचारपछि वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालबाट थप उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज पुर्‍याइएको थियो । तर, चिकित्सकहरूले उनलाई राति नै मृत घोषणा गरेका थिए ।

घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा परेकामा हरिनाश गाउँपालिका–५ का २२ वर्षीय सिजन थापा र चापाकोट नगरपालिका–५ काम्तीका २४ वर्षीय अनिल शाही रहेका छन् ।

प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्