
काठमाडौँ । मुलुकभर हालसम्म ९४.१५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिमा यो दर ९८.४४ प्रतिशत पुगेको थियो ।
कृषि विभागका अनुसार यस वर्ष मनसुन ढिला सक्रिय भएकाले रोपाइँको गति सुस्त भएको हो । प्रदेशगत विवरणअनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ९९.७२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ भने मधेस प्रदेशमा सबैभन्दा कम ८६.३५ प्रतिशत मात्र रोपाइँ भएको छ । त्यसैगरी कर्णालीमा ९९.३४ प्रतिशत, लुम्बिनीमा ९८.०७ प्रतिशत, बागमतीमा ९७.२७ प्रतिशत, गण्डकीमा ९४.८३ प्रतिशत र कोशीमा ९४.४२ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि विभागका महानिर्देशक प्रकाश सञ्जेलले जानकारी दिए ।
हालसम्म करिब १३ लाख हेक्टर क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ । मुलुकभर करिब १४ लाख हेक्टर क्षेत्र खेतीयोग्य रहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । भदौ दोस्रो सातासम्म केही प्रतिशत रोपाइँ वृद्धि हुने अपेक्षा गरिएको छ ।
धान उत्पादनका हिसाबले तराई क्षेत्र सबैभन्दा उपयुक्त मानिन्छ । कुल धान उत्पादनमध्ये तराईमा ७० प्रतिशत र पहाडी क्षेत्रमा ३० प्रतिशत उत्पादन हुने गरेको तथ्यांक छ । आर्थिक वर्ष २०८०/८१ मा मुलुकभर ५७ लाख २४ हजार २३४ मेट्रिकटन धान उत्पादन भएको थियो ।
यस वर्ष करिब ६० लाख मेट्रिकटन धान उत्पादन हुने अनुमान गरिएको छ, जसबाट करिब ३५ लाख मेट्रिकटन खानयोग्य चामल उत्पादन हुने विभागले जनाएको छ ।





