पोखरामा खुला पर्वतीय दौड हुने



कास्की । विश्व पर्यटन दिवसको अवसरमा पोखरामा असोज ४ गते खुला पर्वतीय दौड प्रतियोगिता हुने भएको छ । पोखराको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रचार–प्रसार गर्दै खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सो प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले बताएका छन् ।

सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता असोज ४ गते हुने जानकारी दिइयो । दौड पोखरा–२२ स्थित विश्वशान्ति स्तूपबाट सुरु भई पुम्दीकोटको विशाल महादेव मूर्तिको परिक्रमा गर्दै निगालेडाँडामा रहेको कालाबाङ घरेडी बुद्ध पार्कमा पुगेर समापन हुने आयोजक पोखरा क्लिकका अध्यक्ष दीननाथ बरालले जानकारी दिए ।

उनका अनुसार आठ किमी दूरीको प्रतियोगिता खुला, वडास्तरीय, महिला, यु–१६, पर्यटन तथा ४० वर्ष माथिका भेट्रान गरी छ वटा समूहमा सञ्चालन गरिनेछ । खुलातर्फ प्रथम हुने धावकले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् भने दोस्रो, तेस्रो, चौथो र पाँचौँ हुनेले क्रमशः ३० हजार, १५ हजार, सात हजार र तीन हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै, वडास्तरीय, महिला र यु–१६ समूहका विजेताले जनही १५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले सात–सात हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भेट्रान र विदेशी धावकलाई समेत प्रोत्साहन पुरस्कारका लागि जनही १५ हजार रुपैयाँको व्यवस्था गरिएको अध्यक्ष बरालले जानकारी दिए ।

प्रतियोगिताका लागि अनलाइन आवेदन खुला गरिएको प्रतियोगिता निर्देशक ओम लामाले बताए । उनका अनुसार धावकहरूले भदौ २५ गतेसम्म अनलाइन फाराम भरी नाम दर्ता गर्न सक्नेछन् । पोखरा–२२ का वडाध्यक्ष हिमलाल बरालले यस प्रतियोगितालाई वडाले पर्वका रूपमा लिएको उल्लेख गर्दै आगामी वर्ष हाफ म्याराथनसम्म विस्तार गर्ने योजना रहेको जानकारी दिए ।

त्यस्तै, पोखरा पर्यटन परिषद्का प्रथम उपाध्यक्ष हरिबहादुर भुजेलले विदेशी धावकहरूको सहभागिता बढाउन पहल गरिने बताए भने विश्वशान्ति स्तूप समितिका अध्यक्ष अशोक गुरुङले दौडको सुरुआत हुने स्थलमा आवश्यक व्यवस्थापनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्