खोटाङमा डेङ्गु नियन्त्रणका लागि लार्भा नष्ट गर्ने अभियान



खोटाङ । जिल्लामा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि खोटाङमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको छ । पछिल्लो एक महिनामा जिल्ला अस्पतालमा भर्ना भएका १२ जनामा डेङ्गु पुष्टि भएपछि नियन्त्रणका लागि सोमबारदेखि अभियान प्रारम्भ गरिएको हो ।

अभियानको पहिलो दिन दिक्तेल बजारका विभिन्न ग्यारेज तथा चोक–चोकमा लार्भा खोजी नष्ट गरिएको छ । दिक्तेलस्थित अस्पताल चोकबाट सुरु भएको अभियान अल्छेढुङ्गा हुँदै किरात चोक आसपासका क्षेत्रमा सरसफाइ गर्दै हाटडाँडामा समापन गरिएको थियो ।

यस अभियानमा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठसहित नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, उद्योग वाणिज्य सङ्घ, होटल व्यवसायी तथा विभिन्न सरकारी–गैरसरकारी संस्थाका प्रतिनिधिहरू सहभागी थिए । सो क्रममा स्थानीयवासीलाई डेङ्गुको लक्षण, सर्ने तरिका र बच्ने उपायसम्बन्धी जानकारी पनि दिइएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन चौलागाईंले बताए ।

स्वास्थ्य कार्यालयले आइतबार सरोकारवालासँग अन्तरक्रिया गरी जिल्लाभर लार्भा नष्ट अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । कार्यालयका अनुसार लामखुट्टे फैलिन नदिनु नै डेङ्गु नियन्त्रणको प्रभावकारी उपाय भएकाले सबै स्थानीय तहमा अभियान विस्तार गर्न पत्राचार गरिएको छ ।

डेङ्गुका बिरामीमा आँखाको पछाडि दुखाइ, वाकवाकी, शरीरका मांसपेशी, हड्डी तथा जोर्नी दुख्ने, ग्रन्थि सुन्निने, छाला रातो हुने र डाबर आउने जस्ता लक्षण देखिने स्वास्थ्यकर्मीले बताएका छन् । उपचारको विशेष विधि नभएकाले पर्याप्त पानी पिउन, आराम गर्न र ज्वरो नियन्त्रणका लागि सिटामोल प्रयोग गर्न सुझाव दिइएको छ ।

यससँगै जिल्लामा स्क्रबटाइफसका १४ जना बिरामी पनि भेटिएका छन् । तीमध्ये दुई/दुई जनालाई जिल्ला बाहिर पठाइएको छ । स्क्रबटाइफस माइटको टोकाइबाट सर्ने रोग हो जसमा टाउको दुख्ने, ज्वरो आउने, शरीर दुख्ने जस्ता लक्षण देखिन्छ र उपचारमा ढिला भएमा जोखिम बढ्ने स्वास्थ्यकर्मीले चेतावनी दिएका छन् ।

जिल्ला अस्पताल खोटाङमा हाल दैनिक १५० देखि २०० बिरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालका प्रमुख डा. रुपेश सङ्ग्रौलाका अनुसार शय्या र उपकरणको अभावले उपचारमा कठिनाइ भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्