
महोत्तरी । साउनको अन्तिम सातामा अनुकूल वर्षा भएपछि महोत्तरीमा धान रोपाइँको गति तीव्र बनेको छ । असार र साउनको पहिलो दुई सातासम्म खडेरीले किसानलाई मर्का परे पनि अन्तिमतिर निरन्तर पानी पर्न थालेपछि रोपाइँ ७५ प्रतिशत पुगेको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी तथा बाली विज्ञ अविरलकुमार महतोका अनुसार साउन दोस्रो सातासम्म ३० प्रतिशत मात्र पुगेको रोपाइँ तेस्रो सातासम्ममा ४५ प्रतिशतमा पुगेको थियो । मसान्तसम्म भने करिब ३३ हजार ३५० हेक्टरमा रोपाइँ सम्पन्न भई धान खेतीको कुल क्षेत्रफलको ७५ प्रतिशतमा काम भएको हो ।
उनका अनुसार भूमिगत जलस्रोत प्रयोग गर्दै इनार, डिपबोरिङ र स्यालोट्युवबेलमार्फत मोटर पम्प प्रयोग गरेर किसानले धान रोपिरहेका बेला अन्तिम साता परेको वर्षाले सहजता पुर्यायो । यसले खेत हिल्याउन कम समय र खर्च लागेकाले रोपाइँ छिट्टै सम्पन्न गर्न किसानलाई मद्दत भयो ।
भङ्गाहा–५ का किसान शनिश्चर बाँतरले साउन दोस्रो साता एक कट्ठा खेत हिल्याउन तीन घण्टा मोटर पम्प चलाउनु परेको स्मरण गर्दै अन्तिम सातादेखि भने वर्षाले ठूलो राहत दिएको बताए । “अब धान भित्रिने आशा पलाएको छ,” उनले भने ।
यद्यपि, जिल्लाको दक्षिणपश्चिमी भेगमा भने अझै पनि पानीको अभाव छ । मनराशीशवा, सम्सी, एकडारा र सोनमा पर्याप्त वर्षा नहुँदा रोपाइँपछि परेको किसान चन्द्रभूषण मौव्वारले अब अन्य बालीमा सरकारी सहयोग आवश्यक भएको बताए ।
जिल्लाका अधिकांश किसानले भने मरिहत्ते गरेर रोपाइँ गरेका छन् । प्रेमनगर, बर्दिबास–७ का किसान रामऔतार महतोका अनुसार साउन १५ यता परेको वर्षाले खेतको रोपो हरियो लहलहाएपछि धान भित्रिने आशा बलियो भएको छ ।
अहिलेसम्म करिब ७५ प्रतिशत रोपाइँ भए पनि थप दुई–तीन दिनमा यो दर ८० प्रतिशतसम्म पुग्ने कृषि ज्ञान केन्द्रको अनुमान छ । तर, ढिलो रोपाइँ भएकाले बीउ (खरुअन) नहुर्किने जोखिम र कीरा–रोगको प्रकोप बढ्ने सम्भावना भएकाले किसानलाई सचेत रहन कृषि विज्ञले सुझाएका छन् ।
यसपालि पानी र बीउको अभावले मधेशमा परम्परागत तालिका अनुसारको रोपाइँ गर्न नसकिएको किसानको गुनासो छ । उनीहरूले तीनै तहका सरकारसँग समयमा पानी, मल र बीउ उपलब्ध गराई खेती अनुकूल वातावरण सुनिश्चित गर्न माग गरेका छन् ।





