दैनिक १० हजारभन्दा बढीको इस्कुस कारोबार



उदयपुर । सदरमुकाम गाईघाटमा हरियो तरकारीको मूल्य बढ्दै गएको अवस्थामा जिल्लाका पहाडी क्षेत्र रौता, साउने, खाँबु, रौतामलबासे, सल्लेसहितका बस्तीमा उत्पादित इस्कुसले बजार तताउन थालेको छ । यहाँ दैनिक करिब रु १० हजारभन्दा बढीको इस्कुस बिक्री भइरहेको किसानले बताएका छन् ।

खाँबुका इस्कुस उत्पादक टङ्कबहादुर मगरका अनुसार साउनको अन्तिम सातादेखि गाईघाट बजारमा इस्कुस बिक्री सुरु भएको हो । अर्का किसान देवराज खत्रीका अनुसार गाईघाट, देउरी, बगाहासहित सिरहा क्षेत्रबाट व्यापारी आएर खरिद गर्ने गरेकाले दैनिक १० देखि २० हजार रुपैयाँसम्मको कारोबार हुन थालेको छ ।

गाईघाट सब्जी बजारकी व्यापारी कुमारी कटुवालले अहिले पहाडी क्षेत्रमा इस्कुस प्रतिकिलो रु ३०–४० पर्न जाने उल्लेख गर्दै बजारमा भने रु ६० मा बिक्री भइरहेको जानकारी दिइन् । जिल्ला बाहिरबाट ल्याइने तरकारी महँगो र गुणस्तरहीन हुने गरेको भन्दै यहाँको ताजा इस्कुस पाउँदा उपभोक्ता सन्तुष्ट भएका छन् ।

स्थानीय उपभोक्ता सम्झना बस्नेतले जिल्लाकै अर्ग्यानिक इस्कुस किनेर खान पाउँदा स्वास्थ्यका लागि लाभदायक मात्र नभई खर्च पनि घटेको बताइन् । किसानका अनुसार गाईघाट बजारमा साउने, खाँबु र रौता क्षेत्रमा उत्पादित इस्कुसको माग विशेष गरी बढी हुने गरेको छ ।

व्यापारी प्रेम मगरका अनुसार साउन तेस्रो सातादेखि सुरु हुने इस्कुस बिक्री भदौ महिनामा उच्च बिन्दुमा पुग्छ । गत वर्ष उनले भदौभरि लाखौँको इस्कुस बिक्री गरेको बताए । यस वर्ष पनि त्यस्तै कारोबार हुने उनको अनुमान छ ।

त्रियुगा नगरपालिकाको साउने, खाँबु, डहर, रौता, मलबासे र आपटार क्षेत्रका किसानले उत्पादन गरेको इस्कुस गाईघाट बजारसँगै सप्तरीको राजविराज र सिरहाको लहानसम्म पुग्ने गरेको छ । किसानका अनुसार एक सिजनमा कसैले रु ५० हजारदेखि रु ३ लाखसम्म आम्दानी गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्