
बागलुङ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइको पहलमा बागलुङ र पर्वतका विभिन्न स्थानमा ९९.५ हेक्टर जमिन चक्लाबन्दी गरी व्यावसायिक फलफूल तथा तरकारीखेती सुरु गरिएको छ।
परियोजना एकाइका प्रमुख नारायण पौडेलका अनुसार आर्थिक वर्ष २०७६/७७ देखि कृषक समूह र कृषि सहकारीमार्फत किसानलाई संगठित गर्दै व्यावसायिक खेतीतर्फ आकर्षित गर्न यो अभियान अघि बढाइएको हो। चक्लाबन्दी भएपछि गाउँका बाँझो जमिन उत्पादनमा आएको छ।
चक्लाबन्दी गरिएको क्षेत्रमध्ये करिब रु एक करोडको लगानीमा सात हेक्टरमा सुन्तला, १२ हेक्टरमा ओखर, २० हेक्टरमा तरकारी, १२.५ हेक्टरमा कागती, २७ हेक्टरमा स्याउ र ११ हेक्टरमा किबी खेती गरिएको प्रमुख पौडेलले जानकारी दिए।
ढोरपाटन नगरपालिका–९ नवी गाउँमा पनि जग्गा चक्लाबन्दी गरी स्याउखेती सुरु गरिएको छ। गत आर्थिक वर्षमा २८० रोपनी क्षेत्रमा रेड, गोल्डेन र रोयल डेलिसियस जातका स्याउका बिरुवा रोपिएका छन्।
नवी गाउँका किसान नन्दे सुनारका अनुसार झण्डै दुई दशकदेखि स्याउखेती गर्दै आए पनि उल्लेख्य लाभ लिन नसकेका किसानहरू, परियोजनाको पहलपछि उत्साहित भएका छन्। उनका अनुसार यो प्रयासले उत्पादन र आम्दानी दुवै बढ्ने अपेक्षा गरिएको छ।





