बागलुङमा करिब दुई लाख पशुचौपायामा खोप अभियान सम्पन्न



बागलुङ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङले जिल्लाभर एक लाख ९३ हजार ७२२ पशुचौपायामा विभिन्न रोगविरुद्ध खोप लगाएको छ। जिल्लाका १० वटै स्थानीय तहका ८५ वडामा प्राविधिक टोली खटाएर गत पुसदेखि जेठसम्म चार चरणमा अभियान सञ्चालन गरिएको हो।

केन्द्रका प्रमुख ऋषिराम सापकोटाका अनुसार २५ हजार ५३१ गाई–गोरुलाई खोरेत र लम्पी स्किन, ४२ हजार ७२८ भैँसीलाई खोरेत, एक लाख २५५ बाख्रा र ११ हजार ५३८ भेडालाई पिपिआर, ४ हजार ७२८ बंगुरलाई हैजा र ८ हजार ९४२ कुकुरलाई रेबिजको खोप दिइएको छ।

उनले किसानको मौसमी बसाइँसराइका कारण खोप कार्य चार चरणमा सम्पन्न गरिएको बताए। “हिउँदमा बेँसीमा र बर्खामा बुकीमा पशु लैजाने चलन भएकाले बुकीमा पुगेर खोप दिन सम्भव हुँदैन,” सापकोटाले भने, “पहिले खोपमा हिच्किचाउने किसान अहिले फोन गरेरै खोपको लागि आग्रह गर्छन्।”

सापकोटाका अनुसार करिब एक करोड रुपैयाँ लागतमा सञ्चालित यस अभियानले किसानबीच पशु स्वास्थ्यबारे चेतना बढाएको छ। तीन वर्षअघि लम्पी स्किन रोगका कारण ठूलो संख्यामा पशु मरेपछि किसानमा खोपको आवश्यकता बोध भएको उनको भनाइ छ। अघिल्लो वर्ष जिल्लामा दुई लाख १६ हजार ७२ पशुलाई खोप दिइएको थियो।

ढोरपाटन नगरपालिका–९ का किसान थमबहादुर घर्तीले दुई वर्षअघि पालिकाबाट बुकीमै आएर भैँसी र गाईलाई खोप दिइएपनि त्यसपछि नियमित खोप नपाएको बताए। हाल उनी १४ भैँसी, ९ गाई र करिब ५० भेडा पालन गर्छन्। गत वर्ष मात्र सात भेडा मर्दा करिब एक लाख रुपैयाँ नोक्सानी भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्