
भीमदत्त । सुदूरपश्चिमका पहाडी जिल्लामा तीव्र बसाइँसराइका कारण गाउँ रित्तिँदै र तराईमा जनसङ्ख्या चाप बढ्दै गएको छ । नौ जिल्लामध्ये कञ्चनपुरमा मात्र प्रदेशको कुल जनसङ्ख्याको २० प्रतिशत बासोबास छ ।
२०७८ को जनगणना अनुसार सुदूरपश्चिममा २६ लाख ९४ हजार ७८३ जनसङ्ख्या छ, जसमा ५२.७७ प्रतिशत महिला र ४७.२३ प्रतिशत पुरुष छन् । रोजगारीका लागि भारत तथा तेस्रो मुलुक जाने प्रवृत्ति बढेकाले पुरुष जनसङ्ख्या तुलनात्मक रूपमा कम देखिएको हो ।
प्रदेशका पाँच पहाडी जिल्ला—अछाम, बैतडी, डोटी, बझाङ र डडेल्धुराको जनसङ्ख्या घट्दो छ । हिमाली जिल्ला दार्चुलाको वृद्धिदर शून्य छ भने बाजुरामा ०.२५ प्रतिशत वृद्धिदर देखिन्छ । तर, तराईका कैलाली र कञ्चनपुरमा क्रमशः १.४८ र १.२५ प्रतिशतको दरले जनसङ्ख्या बढ्दो छ ।
तथ्याङ्क समन्वय कार्यालय धनगढीका प्रमुख गोविन्द न्यौपानेका अनुसार रोजगारी, शिक्षा र अवसरको खोजीमा पहाड–हिमालबाट तराई–मधेस र सहरी क्षेत्रमा बसाइँसराइ बढेकाले जनसङ्ख्या वितरणमा असन्तुलन देखिएको हो । तराईमा बढ्दो चापले कृषियोग्य जमिन घटाउँदै लगेको र व्यवस्थापनमा चुनौती थपिएको उनको भनाइ छ ।
विज्ञहरूको चेतावनी अनुसार सुदूरपश्चिमको जिडिपीमा ३० प्रतिशत योगदान दिने कृषि क्षेत्र घटे अर्थतन्त्रमा सङ्कुचन आउन सक्छ । अहिले कुल जनसङ्ख्याको आधाभन्दा बढी कैलाली (३३%) र कञ्चनपुर (२०%) मा बसोबास गर्छन् ।
भीमदत्त नगरपालिका प्रमुख पदम बोगटीका अनुसार सुगम र राजमार्गसँग जोडिएको नगर भएकाले मानिसको आकर्षण बढ्नु स्वाभाविक भए पनि स्रोत व्यवस्थापनमा बर्सेनि दबाब बढिरहेको छ ।
कञ्चनपुरका नौ स्थानीय तहमा भीमदत्त नगरपालिकाको जनसङ्ख्या १ लाख २२ हजार ३२० पुगेको छ, जुन सबैभन्दा बढी हो ।
सुदूरपश्चिम विश्वविद्यालयका उप–प्राध्यापक शङ्करदत्त भट्टले पहाडी क्षेत्रमा तरकारी, फलफूल र पशुपालनको सम्भावनामा लगानी गर्दै नमुना कृषि पकेट विकास गर्नुपर्ने सुझाव दिएका छन् ।
प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. हिरा चन्दका अनुसार बसाइँसराइ रोक्न एकीकृत बस्ती विकास, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, पर्यटन प्रवर्द्धन, उत्पादनमा अनुदान र उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिनुपर्ने आवश्यकता छ ।





