
बागलुङ — बर्खायाममा नदीजन्य पदार्थ ठेक्कामा निकाल्न नपाइने कानुनी प्रावधान हुँदाहुँदै पनि बागलुङ र पर्वत हुँदै बग्ने कालीगण्डकी नदीमा अवैध दोहन निरन्तर जारी छ। गत असारदेखि भदौ १५ गतेसम्म दोहनमा रोक लगाउने व्यवस्था भए पनि दर्जनौँ स्थानमा मध्यरातसम्म बालुवा उत्खनन भइरहेको देखिन्छ।
शनिबार राति ९ बजे सहस्रधारा क्षेत्रको भाटेखोला बगरमा एउटा स्काभेटरले बालुवा निकाल्दै गर्दा पाँच टिपरले लोड गरिरहेको अवस्था देखियो। भाटेखोला मात्र नभई दब्ल्याङ, कालाखोला, खनियाघाट लगायतका स्थानमा समेत दोहन भई बालुवा नदी किनारमै भण्डारण गरिएको छ।
स्थानीयका अनुसार बर्खामा उर्लेको नदीले ल्याउने बालुवा संकलन गरी हिउँदमा महँगोमा बिक्री गर्ने गरिएको छ। कालीगण्डकी बचाउ अभियानका संयोजक आरके अदिप्त गिरीले अवैध दोहनले शालिग्राम शिलासमेत संकटमा परेको चेतावनी दिए। पर्वत खण्डमा बढी दोहन भइरहेको र बागलुङतर्फका थुप्रै स्थानमा निरन्तर उत्खनन भइरहेकाले तत्काल कडाइ गर्नुपर्ने उनले बताए।
गिरीका अनुसार कानुनी रोक हुँदाहुँदै पनि स्थानीय तह, प्रशासन र जिल्ला समन्वय समिताबीच दोषारोपणको खेल चल्दा दोहनलाई प्रश्रय मिलिरहेको छ। प्रहरी प्रशासनको मौनता र मिलेमतोबिना यस्तो सम्भव नभएको दाबी गर्दै उनले गण्डकी सभ्यता जोगाउन कालीगण्डकीलाई दोहनमुक्त सूचीमा राख्न आग्रह गरे।
नियम विपरीत नदीको बीच भागबाट उत्खनन हुँदा माझी बस्ती, मालढुङ्गा र कालाखोला बगरका घरहरू बाढी जोखिममा परेको गुनासो छ। यद्यपि, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक तिलक भारतीले दोहन रोक्न नयाँ रणनीति अनुसार सादा पोसाकमा प्रहरी परिचालन गर्ने तयारी भएको बताए।





