बेनी–जोमसोम सडकमा रातिको सवारी आवतजावत रोक



म्याग्दी । पहिरोको जोखिमका कारण बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा रातिको समयमा सवारी सञ्चालन रोक्ने निर्णय गरिएको छ।

जिल्ला सुरक्षा समिति म्याग्दी र मुस्ताङको संयुक्त निर्णयअनुसार साउन २७ गते मङ्गलबार साँझदेखि बेनीदेखि घाँसासम्मको सडकमा साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवतजावत बन्द हुनेछ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार अर्को सूचना नआएसम्म रातिको सवारी सञ्चालन पूर्ण रूपमा निषेध गरिएको हो। म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले वर्षायाममा पहिरोको उच्च जोखिम भएकाले यात्रुलाई रातिको यात्रा नगर्न आग्रह गरिएको जानकारी दिए। उनले स्थानीय प्रहरी चौकीमार्फत दुई जिल्लाले समन्वय गरेर निर्णय कार्यान्वयन गर्ने बताए।

रघुगङ्गा गाउँपालिका–२ बैसरी, माझखर्क, अन्नपूर्ण गाउँपालिका–२ भुरुङभिर, ३ गुइठेभिर, सुकेबगर र काभ्रेभिर क्षेत्रमा पहिरो खस्ने समस्या रहेको छ।

हाल बेनी–जोमसोम सडक स्तरोन्नतिको अन्तिम चरणमा रहेको छ भने बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले पहिरो पन्छाउँदै यातायात सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्