
चितवन । जिल्लामा लम्पी स्किन रोगको प्रकोप फैलिँदा हालसम्म ३० गाईगोरुको मृत्यु भएको छ । पशु सेवा कार्यालय चितवनका अनुसार असारको अन्तिम साताबाट देखा परेको यस रोगका कारण हालसम्म ७९३ गाईगोरु र ४ भैँसी–राँगा गरी ७९७ पशु चौपाया सङ्क्रमित भएका छन् ।
कार्यालयकी सूचना अधिकारी डा. सविना मिश्रका अनुसार खैरहनी नगरपालिका सबैभन्दा बढी प्रभावित भएको छ, जहाँ ४२५ पशु चौपाया सङ्क्रमित र २२ गाईगोरु मृत भएका छन् । रत्ननगरमा १९१ सङ्क्रमितमध्ये ४ मृत, राप्ती नगरपालिकामा ७५ सङ्क्रमित र १ भैँसी–राँगा प्रभावित, भरतपुर महानगरपालिकामा ६२ सङ्क्रमित र ४ मृत, माडी नगरपालिकामा २७ र कालिका नगरपालिकामा १३ सङ्क्रमित भएका छन् ।
उनका अनुसार लम्पी स्किन देखिन थालेपछि खोप लगाउने किसानको संख्या बढेको छ र हालसम्म ५९ हजार ९७४ पशु चौपायामा खोप लगाइसकिएको छ । गर्मीयाममा लामखुट्टे र झिँगाजस्ता कीराबाट रोग फैलिने सम्भावना बढी हुने उनले बताइन् ।
यो रोग लाग्दा उच्च ज्वरो, खाना कम खाने, दूध उत्पादन घट्ने, छालामा साह्रो गोलो गिर्खा देखिने, ओँठ–मुखभित्र घाउ, आँखा–नाकबाट अत्यधिक तरल पदार्थ आउने, र्याल काढ्ने र लिम्फनोड सुक्ने जस्ता लक्षण देखिन्छन् ।
कार्यालयका अनुसार रोगको संक्रमण संक्रमित पशुको ओसारपसार, सामुदायिक चरन, दाना–पानी खाने स्थान तथा गर्भाधान प्रक्रियाबाट फैलिन सक्छ । रोकथामका लागि खोप, विश्वसनीय स्रोतबाट पशु खरिद, गोठलाई कीराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र कीट विकर्षकको प्रयोग गर्न सिफारिस गरिएको छ ।





