सुनसरी सडक दुर्घटनामा चारको मृत्यु, तीन जनाको पहिचान



सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको बस र माइक्रोबस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ।

प्रहरी नायव उपरीक्षक योगराज खतिवडाका अनुसार मृतकमध्ये सप्तरी महदेवा गाउँपालिका–६ का ३५ वर्षीय शङ्कर मण्डल, कोसी गाउँपालिका–६ का ७० वर्षीय लक्ष्मण सदा र मोरङ बिराटनगर–१० का ४० वर्षीय अशोक यादवको पहिचान भएको छ। चौथी मृतक करिब ४५–५० वर्षकी महिला रहेकी छन्, तर उनको परिचय खुल्न बाँकी छ।

दुर्घटना काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे१ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र२–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस आपसमा ठोक्किँदा भएको हो। माइक्रोबसमा १८ जना सवारमध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।

घाइतेलाई सुनसरीको भोक्राहास्थित ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल र विराटनगरको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ। यस घटनापछि बस चालक झापा अर्जुनधारा नगरपालिका–१ का ३६ वर्षीय गोपाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्