
बागलुङ । अविरल वर्षाका कारण खसेको पहिरोले कालीगण्डकी ‘करिडोर’को बागलुङ खण्ड तीन दिनदेखि ठप्प भएको छ। राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने सो करिडोरको बागलुङ नगरपालिका–१३ कालाखोला बगर क्षेत्रमा शनिबार चट्टानसहितको ठूलो पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीका अनुसार आइतबार दुई स्काभेटर प्रयोग गरेर सडक खोल्ने प्रयास गरिए पनि पहिरो ठूलो भएकाले यातायात सञ्चालन हुन सकेको छैन।
सडक अवरुद्ध हुँदा यात्रुहरू मारमा परेका छन्। ठूला चट्टानका कारण पहिरो हटाउन कठिनाइ भएको र कालीगण्डकी करिडोर आयोजनासँग समन्वय गरी आज बिहानैदेखि पुनः पहिरो पन्छ्याउने कार्य सुरु गरिएको प्रहरीले जनाएको छ।





