बेनी–जोमसोम सडकमा राति सवारी सञ्चालन रोक



म्याग्दी । पहिरोको जोखिमका कारण म्याग्दी खण्डको बेनी–जोमसोम सडकमा रातिको समयमा सवारीसाधन सञ्चालन रोक लगाउने निर्णय गरिएको छ।

जिल्ला सुरक्षा समिति म्याग्दी र मुस्ताङको संयुक्त निर्णयअनुसार आगामी साउन २७ गते मङ्गलबार साँझदेखि बेनीदेखि घाँसासम्मको सडकमा हरेक दिन साँझ ६ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारी आवतजावत पूर्ण रूपमा बन्द रहनेछ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार अर्को सूचना जारी नहुँदासम्म रातिको समयमा सवारी सञ्चालन पूर्ण रूपमा रोक हुनेछ। म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बर्सातमा पहिरोको उच्च जोखिम भएकाले रातिको यात्रा नगर्न आग्रह गर्दै, स्थानीय प्रहरी चौकीमार्फत दुई जिल्लाले समन्वय गरेर निर्णय कार्यान्वयन गरिने बताए।

रघुगङ्गा गाउँपालिका–२ बैसरी, माझखर्क, अन्नपूर्ण गाउँपालिका–२ भुरुङभिर, ३ गुइठेभिर, सुकेबगर र काभ्रेभिरमा बारम्बार पहिरो खस्ने समस्या रहेको छ।

हाल बेनी–जोमसोम सडक स्तरोन्नतिको अन्तिम चरणमा छ र बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले पहिरो पन्छाउने काम गर्दै यातायात सञ्चालन गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्