काठमाडौं जेभियर्स र हिमाली क्वाटरफाइनलमा प्रवेश



काठमाडौं, असार ३० ।
आयोजक काठमाडौं जेभियर्स पब्लिक स्कुल र हिमाली स्कुल दोश्रो काठमाडौं जेभियर्स पब्लिक थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको सिनियर गल्र्सतर्फ मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

सिनियर गल्र्सतर्फ नै बौद्ध चिल्ड्रेन हेभन, काठमाडौं शिक्षालय, पाठशाला, डेफोडिल पब्लिक स्कुल, क्यान्भास बसन्त ऋतु र केएमसीले पनि क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका छन् ।

नयाँ बानेश्वरको लाखेचौर मार्गस्थित आयोजक स्कुलको कोर्टमा जारी प्रतियोगिताको सिनियर ब्वाइज समूहमा हेम्स ‘ए’ र ‘बी’, पाठशाला, फ्लोरिडा ‘ए’ र ‘बी’, चैतन्य, काठमाडौं जेभियर्स, ज्ञान निकेतन, भ्याली भ्यु, सनसाइन, विल्सन एकेडेमी ‘ए’ र ‘बी’, डेफोडिल, इनोभेटिभ, माइलस्टोन र स्पाङ्गेलले प्रिक्वाटरफाइनलमा स्थान बनाएका छन् ।

जुनियर ब्वाइजतर्फ काठमाडौं शिक्षालय, ज्ञान निकेतन, केएमसी, ग्रिनलन्स, फ्लोरिडा, केइएस, काठमाडौं जेभियर्स, अवेयरनेस इन्टरनेसनल एकेडेमी (एआईए), केसीसी, स्पाङ्गेल र ग्रिनलन्सले प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

प्रतियोगिता काठमाडौं जेभियर्सका संस्थापक प्रिन्सिपल तथा काठमाडौं प्याब्सनका उपाध्यक्ष आरबी अधिकारी, प्याब्सन काठमाडौंका सह–सचिव दिनेश पाण्डे र काठमाडौं महानगर प्याब्सनका अध्यक्ष गगनसिंह ऐरले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

प्रतियोगितामा सिनियर ब्वाइज र जुनियर ब्वाइज समूहमा समान २४–२४ तथा सिनियर गल्र्समा १६ टोलीसहित कूल ६४ टिमको सहभागिता रहेको छ । प्रतियोगिताका विजेता टोलिहरूले ७ हजार र उपविजेताहरूले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । फाइनल खेल बिहीबार हुने छ ।

प्रतिक्रिया दिनुहोस्