पदक विजेता भूपेन्द्र र सुदेनको भव्य स्वागत



काठमाडौं, असार ३० – युरोपियन च्याम्पियनसिपमा पदक जितेका नेपाली उमा कुङफु खेलाडी भूपेन्द्र गुरुङ र सुदेन गुरुङ मंगलबार स्वदेश फर्किँदा भव्य स्वागत गरिएको छ।

स्वागत कार्यक्रम काठमाडौंको सामाखुशीमा आयोजना गरिएको थियो। नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राई, उपाध्यक्ष रमेश महर्जन, सदस्य शेरबहादुर गुरुङ, खेलाडी मनाङ गुरुङलगायतको टोलीले उनीहरूलाई स्वागत गरे।

अन्तर्राष्ट्रिय प्रतियोगिता गत जुन २९ तारिख बेलायतको चेल्टेनह्याममा सम्पन्न भएको थियो। प्रतियोगितामा भूपेन्द्रले तीन स्वर्ण पदक जित्दै उत्कृष्ट प्रदर्शन गरे। उनले ट्रेडिसनल चाइनिज फममा २६.७, ट्रेडिसनल वेपनमा २७ र ट्रेडिसनल क्रिएटिभ फममा २६.८ अंक हासिल गर्दै नेपाललाई तीन स्वर्ण दिलाए। भूपेन्द्र यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितिसकेका छन् र निर्णायकको भूमिकासमेत निर्वाह गरिसकेका छन्।

पहिलो अन्तर्राष्ट्रिय अनुभवमा रहेकी सुदेन गुरुङले ट्रेडिसनल चाइनिज फम विधामा २६.१ अंकसहित रजत पदक जितिन्। प्रतियोगितामा नेपालसहित जर्मनी, स्पेन, वेल्स, फ्रान्स, भारत, स्विट्जरल्यान्ड, नेदरल्यान्ड, कोस्टारिका, इस्टोनियालगायत ११ देशका ४१५ खेलाडी सहभागी भएका थिए, नेपाल उमा कुङफु संघका अध्यक्ष राईले जानकारी दिए।

फोटो विवरण:
१. पदक विजेता भूपेन्द्र गुरुङ र सुदेन गुरुङको स्वागत कार्यक्रमको दृश्य
२. भूपेन्द्र गुरुङ (दायाँ) र सुदेन गुरुङ – पदकसहित

प्रतिक्रिया दिनुहोस्