
काठमाडौं, असार ३० ।
सरकारको एक वर्षे कार्यसम्पादनमाथि सोमबार रिपोर्टर्स क्लब नेपालमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख दलका नेताहरूले तीव्र आलोचना गरेका छन्। नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका नेताहरूले वर्तमान गठबन्धन सरकार जनअपेक्षाअनुसार चल्न नसकेको निष्कर्ष प्रस्तुत गरेका हुन्।

नेपाली कांग्रेसका नेता भरतबहादुर खड्काले एमाले–कांग्रेस नेतृत्वको सरकारले जनतामा सरकार भएको अनुभूति दिन नसकेको बताए। “दुई ठूला दल मिलेर बनाएको सरकारबाट जनताले सुशासन, स्थायित्व र समृद्धिको अपेक्षा गरेका थिए, तर ती पूरा भएनन्,” उनले भने। खड्काले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई आफैं आत्मसमीक्षा गरेर सुधारको बाटो समाउन आग्रह गरे। “अब आदेश दिने होइन, आफैं सुध्रनुपर्ने बेला आएको छ,” उनले जोड दिए।
खड्काले भ्रष्टाचार र अराजकता नियन्त्रण गर्न सरकारले ठोस कदम चाल्न नसकेको आरोप पनि लगाए। “गलत गर्ने मन्त्रीलाई कारबाही नगरी राज्य चल्दैन,” उनले चेतावनी दिए। साथै, सरकारले संविधान संशोधनजस्ता विषयमा राष्ट्रिय सहमतिमा अघि बढ्नुपर्ने धारणा राखे।
नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पनि सरकारभित्र देखिएको भ्रष्टाचारप्रति चासो व्यक्त गर्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले तुरुन्त कारबाही गर्नुपर्ने बताए। “पार्टीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराइसकेको छ। अब एक्सनमा ढिलाइ गर्नु हुँदैन,” गौतमले स्पष्ट पारे।

गौतमले जटिल परिस्थितिमा पनि सरकारले राजनीतिक स्थायित्व कायम राखेको, निजी क्षेत्रको विश्वास बढाएको र आर्थिक वृद्धिदरमा सुधार आएको दाबी गरे। “सुधार अपेक्षित भएजति तीव्र नभए पनि अघिल्लो वर्षको तुलनामा उल्लेख्य सुधार देखिएको छ,” उनले भने।
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका नेता मुक्ति प्रधानले भने सरकार जनअपेक्षाविपरीत चलेको आरोप लगाए। “जनताले यो सरकारबाट सन्तोष पाएका छैनन्। यो सरकार नेपाली जनताको हक र हितमा छैन,” उनले भने।
प्रधानले वर्तमान सरकार संविधानको मर्मअनुसार नचलेको आरोप लगाउँदै प्रदेश र संघको बजेटमा संघीयता, वर्ग, जाति र क्षेत्रीय पहिचानलाई बेवास्ता गरिएको बताए। उनले कृषिमा मल–विउको अभाव, विपद् व्यवस्थापन, महँगी नियन्त्रण र सेवा प्रवाह जस्ता विषयमा सरकार पूर्ण रूपमा असफल भएको टिप्पणी गरे।

तीनै नेताहरूले सरकारलाई जनमुखी, जवाफदेही र स्वच्छ बनाउनेतर्फ तुरुन्त गम्भीर कदम चाल्न आग्रह गरेका छन्। ओली–देउवाले आत्मसमीक्षा गरेर सुधार नगरे ठूलो राजनीतिक दुर्घटना हुने चेतावनी कार्यक्रमबाट दिइएको छ।






