
काठमाडौं, असार ३० गते ।
काठमाडौं जेभियर पब्लिक स्कुलको आयोजनामा दोस्रो काठमाडौं जेभियर पब्लिक थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता मंगलबारदेखि सुरु हुँदैछ । स्कुलका संस्थापक प्रिन्सिपल आरबी अधिकारीले सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता सम्बन्धी जानकारी गराएका हुन् ।

उनका अनुसार प्रतियोगितामा ६४ टिमको सहभागिता रहनेछ । प्रतियोगिता सिनियर ब्वाइज र जुनियर ब्वाइजतर्फ २४–२४ टिम तथा सिनियर गल्र्सतर्फ १६ टिमबीच लिग कम नकआउट प्रारूपमा सञ्चालन हुनेछ ।
प्रतियोगिताका विजेतालाई ७ हजार रुपैयाँ र उपविजेतालाई ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकका ईसीए इन्चार्ज खड्ग केसीले जानकारी दिए । प्रतियोगिता सञ्चालनका लागि करिब ३ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । स्कुलका बास्केटबल प्रशिक्षक विकास बोटेका अनुसार हाल जापानमा रहेका स्कुलकै पूर्वविद्यार्थी सन्जिव मगरले प्रतियोगितामा प्रायोजन सहयोग गर्नेछन् ।
प्रतियोगिता काठमाडौं नयाँ बानेश्वरको लाखेचौर मार्गस्थित स्कुलको आफ्नै कोर्टमा सञ्चालन हुनेछ भने फाइनल खेल बिहीबार सम्पन्न हुनेछ ।





