काभा मेन्स च्याम्पियन्स लिग खेल्न जाने टोलीको बिदाइ



काठमाडौं, असार २८ गते।
माल्दिभ्समा आयोजना हुने काभा मेन्स च्याम्पियन्स लिगमा सहभागी हुन जाने नेपाली प्रतिनिधि हेल्प नेपाल स्पोट्र्स क्लबलाई शनिबार बिदाइ गरिएको छ। नेपाल भलिबल संघ (एनभीए)ले राष्ट्रिय खेलकुद परिषद् (राखेप)सँगको सहकार्यमा आयोजित विशेष कार्यक्रममार्फत टोलीलाई बिदाइ गरेको हो।

कार्यक्रममा राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, बोर्ड सदस्य जगतसिंह धामी, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द, तालिम तथा प्रशिक्षण विभाग प्रमुख विष्णुबहादुर सिंह लगायतले क्लबलाई शुभकामना दिँदै बिदाइ गरे।

हेल्प नेपालले हालै पोखरामा सम्पन्न एनभीए राष्ट्रिय क्लब लिगको उपाधि जित्दै काभा च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेको हो। आगामी जुलाई १७ देखि २३ सम्म माल्दिभ्सको मालेमा आयोजना हुने उक्त प्रतियोगितामा नेपालसहित श्रीलंका, माल्दिभ्स, कजाखस्तान र कीर्गिस्तानका च्याम्पियन क्लबहरुले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताका लागि हेल्प नेपालले नेपाल पुलिस क्लबका रविन चन्द, रविन नगरकोटी, सफल विक र एपीएफका विनोद बहादुर चन्द लगायतका खेलाडी अनुबन्ध गरेको छ। टोलीमा दुई जना पाकिस्तानी खेलाडी उस्मान र मोहम्मद आसिफ नाभिद पनि समावेश छन्।

बिदाइ कार्यक्रममा सदस्य–सचिव घिसिङले टोलीलाई सफलताको शुभकामना दिँदै उत्कृष्ट प्रदर्शनको अपेक्षा व्यक्त गरे। उनले क्लबले यहाँसम्म आइपुग्न थुप्रै चुनौती पार गरेको उल्लेख गर्दै यस सफलताले नेपाली भलिबलको प्रतिष्ठा अन्तर्राष्ट्रिय स्तरमा बढाउने विश्वास व्यक्त गरे।

नेपाल भलिबल संघका उपाध्यक्ष भरत शाहले हेल्प नेपालले न केवल आफ्नो क्लबको तर्फबाट, तर सम्पूर्ण नेपालीको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी हुने बताए।

टोलीका खेलाडीहरूः

  • सुवास कुँवर (कप्तान)
  • विष्णुबहादुर क्षेत्री
  • सफल विक
  • चिरन्जिवि खड्का
  • विनोद बहादुर चन्द
  • याम बहादुर भण्डारी
  • मनिष मानन्धर
  • सन्तोष राई
  • रविन चन्द
  • रविन नगरकोटी
  • उस्मान
  • मोहम्मद आसिफ नाभिद
प्रतिक्रिया दिनुहोस्