सरकार जनअपेक्षा अनुसार चल्न सकेन, देश बिर्सिएको छ : पाण्डे | ओली सरकारले भ्रष्टाचारमा पीएचडी गरेको आरोप : सांसद दाहाल



काठमाडौं, २८ असार ।
नेकपा (एकीकृत समाजवादी) का सचिव तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेले वर्तमान सरकारले देश र नेपाली जनतालाई बिर्सिएको आरोप लगाउँदै जनअपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लब नेपालद्वारा शनिबार आयोजित साक्षात्कारमा बोल्दै उनले सरकार गठन भएको एक वर्ष पुगिसक्दा पनि समृद्धिको बाटोतर्फ कुनै ठोस काम देखिन नसकेको बताए ।

उनले भने, “शक्तिशाली सरकार बने पनि जनअपेक्षा पूरा हुन सकेको छैन । कांग्रेस र एमालेजस्ता मुलुककै पुराना र बलिया दलको सरकार हुँदा पनि जनता निराश छन् । गभर्नर जस्तो संवैधानिक पद तीन महिनासम्म रिक्त रहनु सामान्य कुरा होइन ।”

पाण्डेले मुलुकमा गणतन्त्रपछि केही काम भए पनि द्रुत गतिमा समृद्धि नबढेको गुनासो पोखे । उनले सरकारप्रति वितृष्णा बढ्ने खतरा औँदै चेतावनी दिए, “यो सरकारलाई काम नगर्ने छुट छैन । नेपाली जनतालाई आशा जगाउन सरकार प्रभावकारी हुनुपर्छ ।”

झाँक्री प्रकरणमा पार्टीको स्पष्ट सन्देश : माफीको शर्त ‘सुधार’
नेता पाण्डेले पार्टी नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष माधवकुमार नेपालविरुद्ध प्रयोग गरेका शब्दले स्वयम् झाँक्रीलाई नोक्सान भएको दाबी गरे । उनले स्पष्ट गरे, “यदि उहाँले भविष्यमा यस्ता शब्द दोहोर्याउने छैन भन्नुभयो भने स्पष्टीकरणबाट माफी मिनाहा गरिन्छ । तर, उहाँको जवाफ र प्रतिबद्धतामाथि टुँगो लाग्नेछ ।”

वामदेवसँग एकता हुँदै, साउन २ मा घोषणा
पाण्डेले वामदेव गौतमसँग एक वर्षदेखि जारी छलफल अन्ततः सहमतिमा पुगेको जानकारी दिए । उनले भने, “साउन २ गते राष्ट्रिय सभा गृहमा कार्यक्रम गरेर औपचारिक एकता घोषणा हुनेछ । उहाँको प्रस्ताव हामीले पत्याएका छौं ।”

प्रतिक्रिया दिनुहोस्